०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

बीपीका का.मु. उपकुलपतिको नियुक्तिबारे प्रमाण पेश गर्न आदेश

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, माघ १८, २०८०

तस्विर : नमो अनलाईन

धरान । उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीको नियुक्ति खारेज गर्नु नपर्ने आधार र कारणसहित प्रमाण पेश गर्न आदेश दिएको छ ।

कामु उपकुलपतिको नियुक्ति गैरकानूनी रूपमा भएको दाबीसहित खारेज गर्न माग गर्दै परेको रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरकी न्यायाधीश ममता खनालको एकल इजलासले मङ्गलबार त्यस्तो आदेश जारी गरेको हो ।

धरानका सुमन श्रेष्ठले प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री, सह–कुलपति  तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र प्रतिष्ठानका कामु उपकुलपति कार्कीलाई विपक्षी बनाएर उत्प्रेषण परमादेश जारी गर्न माग गरेर रिट निवेदन दिएका थिए । रिटमा कामु उपकुलपतिको नियुक्ति गैरकानूनी रहेकाले खारेज गरी वर्तमान समस्याको समाधान गर्न माग गरिएको थियो । त्यस्तै विगतका अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न माग गरी प्रतिष्ठानमा आउने पदाधिकारी राजनीतिक नियुक्ति नभई दक्षता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गरिएको थियो ।

सो निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले बाटोको म्यादबाहेक १५ दिनभित्र निवेदकको माग बमोजिम आदेश जारी हुनु नपर्ने आधार र कारणसहितको जवाफ पेश गर्न आदेश दिएको हो । त्यसका लागि प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले उच्च सरकारी वकिल कार्यालय विराटनगरमार्फत् र कामु उपकुलपति कार्कीले आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्न आदेश दिइएको छ । साथै निवेदकले माग गरेको अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई माघ १९ गते बोलाइएको छ ।

बुधबार उच्च अदालत विराटनगरमा निवेदकका तर्फबाट अधिवक्ताहरू देवेन्द्र कोइराला, विवेक तिम्सिना र तीर्थराज भट्टराईले बहस गरेका थिए । सरकारले कार्कीलाई २०८० असार १७ को कामु उपकुलपतिमा नियुक्त गरेको थियो । मङ्सिर ४ मा उमेरहदका कारण उनको पदावधि सकिए पनि पुनः सोही पदमा निरन्तरता दिँदै आएका छन् । उनको नियुक्ति प्रतिष्ठानको ऐन र नियमावली विपरीत रहेको रिटमा दाबी गरिएको छ । विभिन्न विवादका कारण प्रतिष्ठान लामो समयदेखि अस्तव्यस्त बनिरहेको छ ।

कालोमोसो दल्ने प्रयासको विरोध
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीमाथि कालोमोसो दल्ने प्रयास भएको घटनाप्रति विभिन्न क्षेत्रबाट खेद प्रकट भएको छ ।

मङ्गलबार कामु उपकुलपति कार्कीमाथि भएको उक्त घटनाको आन्दोलनरत शिक्षक, कर्मचारी संयुक्त सङ्घर्ष समितिले विज्ञप्ति जारी गरेर खेद प्रकट गरेको छ ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खान र कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति खेद प्रकट गरेका हुन् ।

आफूहरूले भद्र अवज्ञा मात्र गरिरहेको जनाउँदै कालोमोसो दल्नेजस्तो अभद्र व्यवहार जो सुकैबाट भए पनि सङ्घर्ष समितिको पूर्ण असहमति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिले प्रतिष्ठानजस्तो प्राज्ञिक थलोमा यस्ता अबाञ्छित गतिविधि नगर्न नगराउन पनि आग्रह गरेको छ ।

त्यसैगरी बीपी अध्ययन प्रतिष्ठान सुनसरीले पनि विज्ञप्ति जारी गरेर घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ । प्रतिष्ठानका अध्यक्ष विकास आचार्यले विज्ञप्ति जारी गर्दै विधि र प्रक्रिया मिचेर यस्तो अराजक गतिविधि गर्ने राजनीतिक सङ्गठन हुन नसक्ने उल्लेख जनाएका छन् ।

त्यस्तै नेपाली काङ्ग्रेस धरान नगर समितिले पनि विज्ञप्ति जारी गरेर घटनाको विरोध गरेको छ । काङ्ग्रेसका नगर सभापति श्याम पोखरेल, प्रदेश १ (२) कार्यसमिति सभापति मुरारी भट्टराई, प्रदेश १ (१) सभापति अनिल श्रेष्ठ र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापति सुजेन्द्र तामाङले संयुक्त वक्तव्य जारी गर्दै घट्नाको निन्दा गरेका छन् । मङ्गलबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले काम उपकुलपति कार्कीलाई कालोमोसो दल्ने प्रयास गरेका थिए । उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]