१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

प्रजातन्त्रका लागि ‘मकैको खेती’ले बालेको दियो र पत्रकारिता

Logo
फणीन्द्र फुयाल ‘ज्वाला’ प्रकाशित सोमबार, फाल्गुण ०७, २०८०

तस्विर : नमो अनलाईन

‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए ।
बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए ।।’
(भूपि शेरचन)

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानियाँ राणाशासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते हामीले प्रजातन्त्र दिवस मनाउँछौँ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरूकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ आएको थियो ।

विगतमा यो दिनको बेग्लै महत्त्व थियो । २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा पर्दै गएको छ । राणाहरूको व्यवहार, शासन र हैरानी सहन नसकेर हाँसी–हाँसी आफ्नो जीवन बलिवेदीमा होम्न तयार देशका महान् सहिदका रूपमा आफ्नो नाम कहिल्यै नमेटिने गरी लेखाउन सफल भएका छन् । देशको पहिलो सहिद लखन थापादेखि राणाविरोधी आन्दोलनका चार महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले यदि राणाहरूको सशक्त विरोध गर्दै विद्रोह र चेतना बिउ नरोपेको भए सायद देशमा प्रजातन्त्र आउन अझै केही समय कुर्नुपथ्र्यो कि ! त्यसैले त कवि भूपि शेरचनले कवितामार्फत भनेझैँ दुई–चारजना सपूत मरेर गए, र त देश बन्यो ।

यतिबेला ‘प्रजातन्त्र’को नाउँ र ठाउँ लोकतन्त्र, गणतन्त्र हुँदै समाजवादले लिएको छ । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको छ । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त हुन सकिरहेको छैन । केही स्थानीय र प्रादेशिक शासकका क्रियाकलापमा अझै राणा शाहीकै धङधङी नियमित भएको आभास हुन्छ ।
प्रजातन्त्र दिवसले नेपालको राजनीतिक र शासकीय इतिहासमा बेग्लै महत्त्व बोकेको छ । २००७ मा नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो । यदि राजाले साथ नदिएको भए प्रजातन्त्र स्थापना अझै समय कुर्नुपथ्र्यो होला !
  • ‘मकैको खेती’ले बालेको दियो 

त्यसो त देशमा राणाशासन अन्त्य गर्दै प्रजातन्त्र ल्याउनका लागि पत्रकार तथा साहित्यकारहरूको पनि ठूलो योगदान छ । सुब्बा कृष्णलाल अधिकारीद्वारा लिखित ‘मकैको खेती’ पुस्तक झट्ट सुन्दा नेपाली खेती किसानसँग सम्बन्धित पुस्तक हो जस्तो लाग्छ । तर यस पुस्तकमा मकैमा लाग्ने किराहरूलाई राणाको संज्ञा दिइएको छ । किराले मकै सखाप पारेजस्तै राणाले देश सखाप पारेको सन्देश यो पुस्तकले साहित्यिक तरिकाले दिन्छ ।

वि.सं. १९४४ माघ २४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा जन्मेका सुब्बा कृष्णलाल अधिकारीलाई नेपालका प्रथम साहित्यिक तथा भाषिक सहिद पनि भनिन्छ । प्रामाणिक अभिलेख अनुसार उनले वि.सं. १९४६ तिर ‘मकैको खेती’ नामक पुस्तक लेख्न थाली वि.सं. १९७७ मा पूरा गरेका थिए । ६० पृष्ठको उक्त पुस्तक नक्साल भगवतीनजिकै पशुपति छापाखानामा एक हजारप्रति छापिएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले सुब्बा कृष्णलाल अधिकारीलाई ‘पुस्तक लेखेर गाथगादी ताकेको’ कारण दण्डित गरे । वि.सं. १९७७ श्रावण ११ मा पक्राउ परी जेल चलान भएका उनको जेलमै मृत्यु भयो । त्यसकारण यो पुस्तक राणाविरोधी अभियानमा ‘कोसेढुंगा’का रूपमा गणना गरिन्छ ।

प्रकाशित पुस्तकमध्ये ९९९ प्रति जलाइयो भने एक प्रति भेटिएन । अप्राप्त एक प्रतिका लागि तोकिएको पाँच वर्षसहित कुल नौ वर्ष उनलाई जेल सजाय तोकिएको थियो । उनलाई सजाय भएको सात महिनापछि सुब्बा राममणि आदीको भूमिकासहित नेपाली भाषा प्रकाशिनी समितिद्वारा प्रकाशित कृषि शिक्षावली प्रथम भाग ः मकैको खेती गर्ने तरीका अधिकारीकै यही मूल कृतिको संशोधित पुनरावृत्ति हो भन्ने भनाइ रहेकाले उक्त एक प्रति षड्यन्त्रपूर्वक लुकाइएको अनुमान गर्न सकिन्छ ।

पुस्तकको भूमिकामा कृष्णलालले उल्लेख गरेका ‘बेलायति कुकुर’ले तत्कालीन ब्रिटिस समुदायलाई इंगित गरेको आरोप लाग्यो भने पुस्तकमा ‘मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा’ भनेर गरिएको उल्लेखलाई राणाहरूले आफूलाई व्यंग्य ठानेर पुस्तकलाई प्रतिबन्ध गरे । उतिबेला चन्द्रशमशेरले रातो र भीमशमशेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे । यसबाहेक किताबमा वर्णित ‘बालकलाई आफ्नो आमाको दूधबराबर चन्द्रोदयले फाइदा गर्दैन’ भन्ने भनाइ चन्द्रशमशेरप्रति ठाडो प्रहार हो भन्ने आरोप लागेको थियो ।

  • क्रान्तिलाई सफल पार्न पत्रकारिता

२००० सालसम्म देशमा साहित्यिक पत्रिकाहरू मात्रै प्रकाशित थिए । एकतन्त्रीय जहाँनियाँ राणाशासनका कारण राजनीतिक विचारप्रधान पत्रिकाहरू खासै प्रकाशित हुन सकिरहेका थिएनन् । प्रवासबाट बिस्तारै राणाविरोधी पत्रिकाहरूको प्रकाशन आरम्भ हुन थालेको थियो । यही क्रममा २००४ सालमा बनारसबाट युगवाणी प्रकाशित भयो, जसले राणाशासनविरुद्धका राजनीतिक लेखहरूलाई प्रमुखताका साथ छाप्ने गर्दथ्यो । २००५ साल कात्तिकदेखि कलकत्ताबाट प्रकाशित नेपाल पुकार पनि राणाशासनका विरुद्ध देखाप¥यो । नेपाली पत्रकारिताको इतिहासमा सात सालको क्रान्तिलाई सफल पार्न यी दुवै पत्रिकाहरूको योगदान उल्लेखनीय छ ।

राणाशासनको आखिरी समयताका चाहिँ नेपालबाटै पनि राजनीतिक विषयलाई समावेश गरिएका पत्रिकाहरू प्रकाशित हुन थालेका थिए । २००७ साल फागुन ४ गतेदेखि जागरण साप्ताहिक प्रकाशित भयो । त्यसको केही दिनमै नेपालमा प्रजातन्त्रको स्थापना भयो । त्यसपछि पत्रपत्रिकाहरूको प्रकाशनमा बाढी नै आयो । प्रजातन्त्र स्थापना भएको भोलिपल्ट ८ फागुन २००७ देखि आवाज दैनिकको सुरुवात भयो । २०११ सालमा पशुपतदेव पाण्डेको सम्पादनमा समाज दैनिक प्रकाशन सुरु भयो । यसै कालखण्डमा सन्देश, दैनिक समाचार, नेपाली समाचार, जय नेपाल, नेपाल भाषा, नेपाल टाइम्स, द कमनर, समय, हालखबर, एभरेष्ट न्युज, सही सन्देश, सत्याग्रह, दियालो, पासा, गोरेटो, भूगोलपार्क, नयाँ समाज, स्वतन्त्र समाचार, जनमत, डेली मिरर, जनता, मदरल्यान्ड, तरंग, राँको, झिल्को, राष्ट्रवाणी, आलोक, सही रस्ता, युगदूत जस्ता पत्रपत्रिकाहरू प्रकाशित भए । यी पत्रिकाहरू कुनै न कुनै रूपमा राजनीतिक पार्टीसँग सम्बन्धित थिए ।

त्यसैले अझै पनि देशमा आन्दोलन, क्रान्ति र सहिदको रगतले प्राप्त भएका उपलब्धिहरूमाथि गिद्धे दृष्टि लगाउनेहरू सलबलाइरहेका छन् । ती गलत व्यक्ति र प्रवृत्तिहरूप्रति साहित्यकार, कलाकार, पत्रकार नागरिक समाज, पेसाकर्मी, राष्ट्रसेवक कर्मचारी र सबै राजनीतिक दलका नेता, कार्यकर्ता र तिनका भ्रातृ संस्थाहरू चौबिसै घन्टा आँखा र कान खुला पारेर ‘वाच डग’ जस्तै बन्न जरुरी छ । शब्दमा लोकतन्त्र, गणतन्त्र, समाजवाद जे भने पनि त्यो उन्नत प्रकारको प्रजातन्त्र नै हो । प्रजातन्त्रको विकल्प उन्नत प्रजातन्त्र हो, राजतन्त्र होइन । प्रजातन्त्र मासेर फेरि पुरानै पश्चगामी बाटोमा हिँड्ने कुचेष्टा कसैले पनि नगरौँ । त्यसैले त कवि भूपि शेरचन कवितामार्फत भन्छन्,

हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला

गोली निलेका सहिदका प्यारा ती लाशले धिक्कार्ला

सहिद रोलान् हामीले उन्नति गरेर नगए

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए

बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सनातन जगतका अनेक ग्रन्थहरूमा भगवान् श्रीरामको सम्पूर्ण जीवन वृत्तान्त भेटिन्छ । रामायणहरू पनि अनेक छन् । अनेक पुराण श्रीरामको आख्यान, उपाख्यान र कथाहरूले भरिएको छ । नेपालका आदिकवि भानुभक्तले संस्कृत रामायणको खस भाषामा अनुवाद गरेका छन् । श्रीराम एक लोकप्रिय आराध्य देवताको रूपमा प्रतिष्ठित छन् । रामायण पाठ हिन्दु धर्मावलम्बीहरू श्रद्धापूर्वक गर्दछन् । श्रीमद्भागवत महापुराणमा […]

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्वी नेपालको जङ्गली क्षेत्रमा सात दिने हात्तीमैत्री पदयात्रा सम्पन्न गरेका छन् । यो पदयात्रा विविध कारणले महत्त्वपूर्ण, चर्चित र अलिकति विवादास्पद समेत बनेको छ । त्यसो त, समाजमा एक थरी समूह पुरातन कालदेखि नै विरोध र विवादका लागि तयार छ । जसले जे गरे पनि वा नगरे पनि त्यस समूहको […]

‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए । बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए ।।’ (भूपि शेरचन) २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानियाँ राणाशासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते हामीले प्रजातन्त्र दिवस मनाउँछौँ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरूकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ आएको […]