०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

यौन र ऋणका कारण सिरहामा श्रीमानबाट ४ दिनको अवधिमा ३ महिलाको हत्या

Logo
नमो अनलाईन प्रकाशित सोमबार, चैत्र ०५, २०८०

तस्विर : फाईल

जनकपुरधाम । गत फागुन २७ गते बिहान सिरहाको गोलबजार नगरपालिका ६ की ३२ वर्षीया अनिता देवी साहको विभत्स हत्या भयो । बिहान करिब २ बजे श्रीमान ३५ वर्षीय महेन्द्र साह अत्तालिँदै घरबाट निस्केर चिच्याएपछि स्थानीयले घटना थाहा पाएका थिए, त्यसपछि प्रहरीले खबर पायो ।

साह दम्पति गत ६ महिनादेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर ‘न्यू स्टार’ नामबाट होटेल सञ्चालन गरेका थिए । होटेल भित्रै सुत्ने कोठामा अनिताको शव फेला पर्यो । शरीरका विभिन्न भागमा धारिलो हतियार तथा ढुंगा प्रहार भएको थियो । प्रहरीले घटनालगतै उनका पति महेन्द्रसहित केही व्यक्तिलाई नियन्त्रणमा लियो ।

तालिमप्राप्त कुकुरसहितको अनुसन्धानबाट पति महेन्द्रले नै पत्नी अनिताको विभत्स हत्या गरेको खुलेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले बताए । ‘घटनास्थलबाट बरामद भएको मृतकको पिठ्युमा थिचेको ढुङ्गा, घरमा चक्कु/खुकुरीमा धार लगाउन प्रयोग गर्ने ढुङ्गा, कोठामा फेला परेको चप्पल र घडी, खाल्डोमा फेला परेको खुकुरी महेन्द्रकै हो भन्ने उनकै ११ वर्षीया छोरीले पहिचान गरेकी छन्,’ डिएसपी पाण्डेले भने, ‘पक्राउ परेका शंकास्पद व्यक्तिले पनि उनकै संलग्नता रहेको बयान दिएपछि महेन्द्रले नै हत्या गरेको हाम्रो निष्कर्ष छ ।’

महेन्द्रमाथि चैत १ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट १० दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय गोलबजार सिरहाले थप अनुसन्धान गरिरहेको छ ।

१२ वर्षअघि अनिता र महेन्द्रको सामाजिक परम्परा अनुसार बिहे भएको थियो । उनीहरुका एक छोरी र दुई छोरा छन् । माइती पक्षका अनुसार बिहेको केही वर्षदेखि महेन्द्रले श्रीमती अनितालाई कुटपिट गर्ने गरेका थिए । कयौंपटक गाउँ समाजमा छलफल समेत भएको थियो ।

अनिताको हत्या भएको २४ घण्टा नबित्दै फागुन २७ गते अपराह्न सिरहा नगरपालिका ६ बसबिट्टाकी ६० वर्षीया निर्मलादेवी यादवको हत्या भयो । घाँस ल्याउन तथा बाख्रा चराउन गएकी निर्मलाको कमला नदीको बाँध नजिक अपराह्न ४ बजे शव फेला पर्यो । डिएसपी पाण्डेका अनुसार पति राम उदगार साहले नै पत्नी निर्मलाको घाँस काट्ने हँसियाले घाँटी रेटेर हत्या गरेका थिए । पति राम उदगारलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो ।

‘अनुसन्धानको क्रममा मृतकका श्रीमान ६५ वर्षीय राम उदगार साहलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले नै हत्या गरेको हो भन्ने खुल्न आएको छ,’ डिएसपी पाण्डेले भने ।

छोरा ३२ वर्षीय सन्तोष साहले आमाको हत्या भएको भन्दै बुबाविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका छन् । उनीहरुका पाँच छोरा र एक छोरी छन् ।

सिरहाका एसपी सन्तोष आचार्यका अनुसार अनिता र निर्मला हत्या घटना यौनसँग सम्बन्धित छ । प्रहरीको अनुसन्धानमा अनिताको हत्याको मूल कारण श्रीमान–श्रीमतीले एक अर्कामाथि शंका गर्दथे । महेन्द्रले आफैं परस्त्रीसँग सम्बन्ध राख्ने र पत्नीलाई परपुरुषसँग सम्बन्ध राख्ने गरेको आरोप लगाउने गर्दथे । ‘महेन्द्र आफूचाहिँ परस्त्रीहरुसँग लागिरहने र उल्टै श्रीमतीमाथि शंका गर्ने गर्दथे । त्यसकारण पटक–पटक दुबैजनाको झैझगडा विवाद भइरहन्थ्यो, कुटाकुट पनि हुने गरेको थियो,’ एसपी आचार्य भन्छन्, ‘हत्याको कारण पनि यही नै देखियो ।’

एसपी आचार्यका अनुसार निर्मला देवीको घटनामा पति–पत्नीबीच लामो समयदेखि शारीरिक सम्बन्धलाई लिएर विवाद हुने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका राम उदगारले आफूसँग श्रीमतीले १० वर्षदेखि शारीरिक सम्बन्ध नराखेको बयान दिएका छन् । ‘आफूसँग शारीरिक सम्बन्ध नराखेको आरोपमा रामउदगारले आवेशमा आएर पत्नीको हत्या गरेको खुलेको छ,’ एसपी आचार्य भन्छन् ।

अनिता र निर्मला देवीको हत्या घटना सेलाउन नपाउँदै गत चैत १ गते सिरहामा फेरि उस्तै प्रकृतिको घटना भयो । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी ४० वर्षीया कुमिया देवी दास बारीमा दाउरा ल्याउन गएकी थिइन् । सवा ४ बजेतिर उनको शव फेला पर्यो । उनको शरीरका विभिन्न भागमा बञ्चरो प्रहार भएको घाउ थियो । पति ५६ वर्षीय रामसितलले बञ्चरो प्रहार गरी पत्नीको हत्या गरेको खबर पाउने बितिकै प्रहरी घटनास्थल पुगे ।

उनको घाँटी, चिउँडो, गाला लगायत शरीरका विभिन्न भागमा अन्धाधुन्ध बञ्चरो प्रहार भएको थियो । प्रहरीले पति रामसितललाई हत्यामा प्रयोग भएको बञ्चरोसहित नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो ।

अनुसन्धानको क्रममा रामसितलले नै बञ्चरो प्रहार गरी श्रीमती कुमिया देवीको हत्या गरेको स्वीकार गरेको डिएसपी पाण्डेले बताए । रामसितलमाथि चैत १ गतेदेखि नै कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस घटनामा भने श्रीमतीले जथाभावी ऋण उठाउने गरेको र साहुहरु घरमा आएर दबाब दिने गरेको कारण आवेशमा आएर हत्या गरेको रामसितलले प्रहरी समक्ष बयान दिएको एसपी आचार्यले बताए । अनलाईन खबर बाट साभार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]