०३ आश्विन २०८१, बिहिबार
19-09-2024 , Thu
×

आजदेखि नयाँ शैक्षिक सत्र सुरू, १५ दिनसम्म विद्यार्थी भर्ना अभियान

Logo
नमो संवाददाता प्रकाशित आइतबार, बैशाख ०२, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुरु भएसँगै प्रधानमन्त्रीले आह्वान गरेका हुन् ।

शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

‘गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ । सरकारले बर्सेनि विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदार, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य छ’, प्रधानमन्त्रीको आह्वानमा भनिएको छ, ‘हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ ।’

सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवाखाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामर्थ्यले भ्याएसम्म लगानी गर्दै आएका बताएका छन् ।

विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् ।

शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका बताउँदै प्रधानमन्त्री प्रचण्डले पाठ्यपुस्तकको वितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आमनागरिकमा हार्दिक अनुरोध गरेका छन् ।

यो वर्षको प्रारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने पूर्ण विश्वासका साथ सबै नेपालीमा प्रधानमन्त्रीले नयाँवर्षको शुभकामना पनि व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगन्जआसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो। वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै […]

बाणगंगा । कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा अर्को एक्सनमा उत्रिएका छन् । नगरभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक कुनै राजनीतिक दलको सदस्य भएको भए ५ दिन भित्र राजीनामा दिन निर्देशन दिएका नगर प्रमुख थापाले नीजि विद्यालयको मासिक शुल्क नगरले तोक्ने बताइसकेका छन् । साथै एकपटक भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थीलाई पटक-पटक भर्नाको नाममा शुल्क […]

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । उनका […]