कञ्चनपुर । कञ्चनपुर दोधाराचाँदनी नगरपालिका– ७ बाबाथानमा गहुँखेतमा आगलागी हुँदा १० बिघा खेतको गहुँ नष्ट भएको छ । हावाहुरीले रुखको हाँगा विद्युत्को तारमा खस्दा विद्युत् तार चुँडिएर बिहीबार दिउँसो गहुँखेतमा आगलागी भएको हो ।
दोधाराचाँदनी नगर प्रवक्ता ओम बस्नेतका अनुसार आगलागीबाट १३ स्थानीयको १० बिघा गहुँखेत जलेर नष्ट भएको छ । पाकेको गहुँमा आगलागी हुँदा साढे पाँच लाखबराबरको क्षति भएको उनले जनाए ।
वीरसिंह सुनारको ६ कट्ठा तथा चन्द्रबहादुर सुनार, सुमन सुनार, भीम सुनारको १०–१० कट्ठा, पदम सुनार, सुशील रानामगर, विनोद मगर, कैसाल सुनारको पाँच–पाँच कट्ठा, सञ्जु ठाकुर, सन्त सारूमगरको १५–१५ कट्ठा, उज्ज्वल बरालको डेढ बिघा र लालबहादुर पुनमगरको साढे दुई बिघा खेतको गहुँ जलेर नष्ट भएको हो । गहुँखेतीमा आगो लागेपछि दमकल र सुरक्षाकर्मीले आगो निभाएका थिए ।