२७ भाद्र २०८१, बिहिबार
12-09-2024 , Thu
×

ममता काफ्ले हराउनु अघि नै श्रीमान् नरेशले गरेका थिए श्रीमती मरेपछिको बिहे बारेको गुगल सर्च

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, भाद्र १३, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । २८ वर्षीय ममता काफ्ले सम्पर्कविहीन हुनुअघि नै ३७ वर्षीय श्रीमान् नरेश भट्टले कार्यालयको कम्प्युटरबाट श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय कुर्नु पर्छ भनेर गुगल सर्च गरेको अभियोजकले अदालतमा भनेका छन् ।

सोमवार अदालतमा दोस्रो पटक नरेशलाई उपस्थित गराइएको थियो । त्यसबेला अभियोजकले अदालतसामु नरेश विरुद्ध उनकी श्रीमती ममतालाई बेपत्ता बनाएको र हत्या गरेकोसम्बन्धी थप प्रमाणहरू पेस गरेका थिए । शव लुकाएको आरोप लागेका नरेशलाई आफ्नी श्रीमतीलाई कुटपिट गरेको आरोप समेत साथीहरूले लगाएको अभियोजकले उल्लेख गरेका थिए ।

प्रहरीहरूले भर्जिनियाको मनासस पार्क स्थित नरेशको घरमा गत हप्ता खोजतलास गर्दा त्यहाँ ममताको हत्या भएको हुन सक्ने सङ्केत फेला परेका थिए । अदालतले सोमवारको सुनुवाइपछि भने नरेशलाई अर्को सुनुवाइ नभएसम्म हिरासतमै राख्न आदेश दिएको छ ।

“घरको ठूलो बेडरुम र बाथरुममा भेटिएको रगतको मात्राले भयङ्कर चोटपटकको सङ्केत गर्छ । यसले ममता अब जीवित नरहेको पनि सङ्केत गर्छ,” प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीले अदालतलाई भनेकी थिइन्, “शव नभेटिए पनि कसैलाई हत्याको आरोप लगाउन सकिन्छ ।”

सो दिन नरेशको तर्फबाट भने वकिलले श्रीमती बेपत्ता हुँदा शव लुकाएको आरोप कसरी लगाउन सकिन्छ भनेर तर्क गरेका थिए । साथै  उचित प्रमाण विना मुद्दा अगाडि बढाइएको तर्क नरेश पक्षले गरेको थियो ।

त्यस्तै नरेशका वकिलले शव लुकाएको अभियोग लगाउन मृत शरीर चाहिने कुरा स्मरण गराएका थिए । प्रहरीले रगत मात्र फेला पारेको बताउँदै उनले सञ्चारमाध्यममा आएका समाचारका कारण दबाब आएपछि नरेशलाई पक्राउ गरिएको बताएका थिए ।

अर्कोतर्फ सरकारी वकिल सामीले नरेश विरुद्धका प्रमाण पर्याप्त रहेको भन्दै प्रतिवाद गरेकी थिइन् । उनले नरेशको घरमा भेटिएको रगतको मात्रा र इन्टरनेट सर्चलाई हाइलाइट पनि गरेकी थिइन् । त्यसअघि अभियोजकहरूले नरेश भाग्नको लागि तयार हुँदै गरेको पनि बताएका थिए ।

नरेशको घरमा भेटिएको रगत ममताकै भएको पुष्टि हुन भने सकेको छैन । तर प्रारम्भिक परीक्षणमा त्यो मानव रगत भएको सामीले सोमवार अदालतमा बताएकी थिइन् । उता नरेशका वकिलले भने नरेशको भाग्ने कुनै योजना नभएको दाबी गरे । परिवारको लागि पैसा उपलब्ध गराउन भनेर नरेशले घर किन्न इच्छुक देखिएका दुई जनासँग कुरा गरेको बताए । भलै नरेशले ममता हराएपछि आफ्नो टेस्ला बेचेका थिए ।

त्यसैगरी सामीले ममता र नरेशबीचको सम्बन्धमा समस्या रहेकोबारे अदालतमा बताएकी थिइन् । गत फेब्रुअरीमा ममताले आफूलाई नरेशले आफ्नो आधिकारिक कागजातहरू नदिएको भन्दै प्रहरीलाई घरमा बोलाएको घटना समेत उनले स्मरण गराइन् । उसैगरी ममताका साथीहरूसँग कुरा गर्दा उनीहरूले ममता घरेलु हिंसाको सिकार भएको र श्रीमानसँग झगडा हुँदा चोटपटक समेत लागेको बताएको पनि उल्लेख गरिन् ।

त्यस्तै अदालतलाई साथी र परिवारसँग नियमित रूपमा सञ्चार सम्पर्कमा रहने सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता ममताले २९ जुलाईदेखि आफ्नो फोन प्रयोग गर्न बन्द गरेको उनको भनाई थियो । उनको फोन एकै पटक १ अगस्टमा मात्र लउडन काउन्टीको तलाउ नजिकैबाट नेटवर्क सम्पर्कमा आएको पनि बताइन् ।

नरेशको घरमा छापा मार्दा प्रहरीहरूले ब्लु स्टार प्रविधि प्रयोग गरेर नाङ्गो आँखाले देख्न नसकिने रगत ट्रेस गरेका थिए । सोही क्रममा सुत्ने कोठाबाट बाथरुमसम्म शरीरलाई घिसारिएको पत्ता लागेको थियो । त्यसै गरी घरभित्र धेरै मात्रामा रगत बगेको फेला परेको थियो । घरमा त्यस्तो भेटिनुअघि नरेशले सरसफाइका सामग्री र चक्कु किनेका थिए ।

यी कुराहरू अदालतलाई बताउँदै सामीले प्रहरी नरेशको घरमा जाँदा सरसफाइ गर्ने केही सामग्रीका खाली बट्टाहरू घरबाहिर ३१ जुलाईमा भेटिएको बताएका थिए । अदालतमा उक्त मुद्दा सुनुवाइ भइ रहँदा ममताका दुई दर्जन जति साथीहरू बाहिर भेला भएका थिए । उनीहरूले मिडियालाई पनि यस घटनाबारे सम्बोधन गरेका थिए ।

अब नरेश अक्टोबरमा हुने अर्को सुनुवाइ नभएसम्म हिरासतमा रहने छन् । यो घटनाको समय रेखा यस प्रकार छ;

२०२१

६/७ वर्षदेखि अमेरिकी सेनामा कार्यतर नरेश भट्ट र नेपाली नागरिक ममता काफ्लेबीच विवाह भयो । त्यसपछि ममता नरेशसँगै अमेरिका पुगिन् ।

२०२३

उनीहरूले अमेरिकाको मनासस पार्कमा नयाँ घर किने ।

२० अगस्ट, २०२३

उनीहरूले नीमा (छोरी) लाई जन्म दिए ।

फेब्रुअरी २०२४

  • मनासस पार्क प्रहरीमा ममताले कल गरिन् । अनि नरेशले आफूलाई राहदानी, ग्रिनकार्ड र सामाजिक सुरक्षा कार्ड दिन नमानिरहेको र आफ्नो फोन पनि फुटाइ दिएको सुनाइन् ।

  • ममताले एकल आमाहरूको गोप्य फेसबुक ग्रुपमा सहयोगको लागि पोस्ट गरिन् । त्यहाँ उनले श्रीमान् नरेशलाई छोड्न चाहेको सङ्केत गरिन् ।

अप्रिल २०२४

  • प्रिन्स विलियम काउन्टीका अभियोजनकर्ताका अनुसार नरेशले गुगल गर्न सरकारी कम्प्युटर प्रयोग गरेः “श्रीमातीको मृत्युपछि के हुन्छ ?”, “श्रीमतीको मृत्युपछि फेरि विवाह गर्न कति समय लाग्छ ?”

८ जुलाई २०२४

ममताले मनाससको यूभीए प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सको रूपमा काम गर्न थालिन् । त्यसअघि उनी फेयरफ्याक्स स्थित इनोभा अस्पतालमा काम गर्थिन् ।

शनिवार २७ जुलाई, २०२४

ममता अन्तिम पटक काममा देखिएकी थिइन् ।

आइतवार २८ जुलाई, २०२४ 

ममताको एक जना साथीले उनलाई दुई पटक फोन गर्छन् । तर फोन उठ्दैन ।

सोमवार २९ जुलाई, २०२४

ममता र नरेशबीच फोनमा कुराकानी हुन छोड्छ । ममताको फोनमा कोही पनि साथी वा परिवारको फोन लाग्दैन । फेसबुक र टिकटकमा समेत ममताको पोस्ट आउन बन्द हुन्छ।

मङ्गलवार ३० जुलाई, २०२४

नरेशले वालमार्टबाट तीन ओटा चक्कुहरू किन्छन् ।

बुधबार ३१ जुलाई, २०२४

नरेशले वालमार्टबाट कार्पेट क्लिनर, लाइसोल र फेब्रिज लगायत सरसफाइका सामान किन्छन् ।

बिहिबार १ अगस्ट, २०२४

  • मेडिकल सेन्टरमा काम गर्न नआएपछि र फोन सम्पर्क पनि नगरेपछि ममताका सुपरभाइजरले प्रहरीलाई उनको घरमा खोजतलास गर्न अनुरोध गर्छन् ।

  • डेटाले ममताको फोन लउडन काउन्टीको पानीको तलाउ भए नजिकैको क्षेत्रमा देखाउँछ । उही समयमा नरेशको फोन दुई घण्टादेखि नेटवर्कमा थिएन । नरेशले त्यो दिन आफू लउडन काउन्टीको एउटा क्याफेमा गएको भन्दै  ‍बिल समेत देखाएका छन् ।

शुक्रबार २ अगस्ट, २०२४

-आफ्नो शिफ्ट भएपनि ममता त्यस दिन पनि अस्पतालमा पुग्दिनन् ।

– मानसस पार्क प्रहरी उनीहरूको घरमा खोजतलास गर्न जान्छ । नरेश ढोकामै भेटिन्छन् । प्रहरीहरूले ममतालाई खोजीरहेको बताउँछन् । नरेश भने आफूहरू छुट्टिन लागेको सुनाउँछन् । र ममतालाई अन्तिम पटक ३१ जुलाईमा देखेको बताउँछन् । उनी प्रहरीलाई आफूले १ अगस्टका दिन घरमा “केही आवाज सुनेको”  र आफ्नी श्रीमती भएको अन्दाज गरेको सुनाउँछन् ।

– आफूलाई ममता हराएको भन्ने नलागेको सुनाउँछन् । साथै न्युयोर्क अथवा टेक्ससमा रहेकी आफ्नी दिदी कहाँ गएकी हुन सक्ने पनि अनुमान गरेको कुरा पनि प्रहरीलाई बताउँछन् । तर पछि प्रहरीले ममताको रगतको नाता भएका परिवारका कुनै पनि सदस्य अमेरिकामा नरहेको पत्ता लगायो । नरेशले प्रहरीहरूलाई घर छाड्नु अघि ममताले आफ्नो फोन पनि फुटाएको बताउन भ्याए ।

शनिवार ३ अगस्ट, २०२४

ममताको फोनबाट नरेशको फोनमा कल आउँछ । जुन ममताको फोनको अन्तिम गतिविधि हो ।

सोमवार ५ अगस्ट, २०२४

नरेश मानसस पार्क प्रहरीलाई सम्पर्क गर्छन् र आफ्नी श्रीमतीको बारेमा केही पत्ता लगाउन नसकेको बताउँछन् । त्यसपछि ममता आधिकारिक रूपमा हराएको टुङ्गो लाग्छ ।

मङ्गलवार ६ अगस्ट, २०२४

पुन: प्रहरीहरू नरेशको घर पुग्छन् । नरेशले प्रहरीहरूलाई ममताका केही लुगा, राहदानी, ग्रिन कार्ड र सामाजिक सुरक्षा कार्ड पनि घरमा नभएको बताउँछन् । अनि ३१ जुलाईसम्ममा घरमै भएको बयान पुन: दिन्छन् ।

बिहीवार १५ अगस्ट, २०२४

छोरी नीमालाई नेपाल पठाउन आफूले तयारी गरिरहेको बारे नरेशले प्रहरीलाई जानकारी गराउँछन् ।

सोमवार १९ अगस्ट, २०२४

नरेशले आफ्नो टेस्ला कार बेच्छन् ।

मङ्गलवार २० अगस्ट, २०२४

छोरी नीमाको जन्मदिनको उपलक्ष्यमा नरेशले ममताका साथीहरूलाई घरमा आउने अनुमति दिन्छन् ।

बुधवार २१ अगस्ट, २०२४

  • प्रहरीले नरेशको घरमा पुनः खानतलासी गर्छन् । त्यस क्रममा उनीहरूले घरमा नै हत्या भएको हुन सक्ने प्रमाण फेला पार्छन् । जसमा रगत बगेको, सुत्ने कोठाबाट बाथरूममा शरीरलाई घिसारेको जस्ता प्रमाण छन् ।

  • सोही दिन मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले पत्रकार सम्मेलन गर्दै ममता बेपत्ता पार्नेमा नरेश भएको हुन सक्ने बताउँछन् । उनीमाथि थप अनुसन्धान हुने पनि सुनाउँछन् ।

बिहीवार २२ अगस्ट, २०२४

  • प्रहरीले नरेशलाई लास लुकाएको कसुरमा पक्राउ गर्छ । र प्रिन्स विलियम मनासस एडल्ट डिटेन्सन सेन्टरमा लान्छ ।

  • निमालाई स्थानीय समाज सेवा विभागको हेरचाहमा लगिन्छ ।

  • मनसस पार्कका प्रहरी प्रमुख मारियो लुगोले ममता जीवित भएको ‘सङ्केत’ नभएको बताउँछन् ।

शुक्रवार २३ अगस्ट, २०२४

नरेशलाई पहिलो पटक अदालतमा उपस्थित गराइन्छ । र, प्रहरीले अदालतमा अभियोगपत्र पेस गर्छ ।

शनिवार र आइतवार २४-२६ अगस्ट, २०२४

नरेशको घरमा भेटिएका प्रमाण मानव रगत भएको फरेन्सिक रिपोर्टबाट पुष्टि हुन्छ ।

सोमवार २६ अगस्ट, २०२४

  • न्यायाधीशले नरेश समुदायका लागि जोखिम र खतरा भएको बताउँछन् र उनलाई धरौटीमा छाड्न अस्वीकार गर्दै हिरासतमा राख्ने कार्यलाई निरन्तरता दिन्छन् ।

(यो सामग्री विभिन्न अमेरिकी तथा अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूको सहयोगमा तयार पारिएको हो ।) By Teach Pana

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । विराटनगर स्थित जुद्ध म्याच फ्याक्ट्री (सलाई उद्योग) का श्रमिक मान बहादुर गुरुङले एक दशकको पारिश्रमिक एकमुष्ट पाइन्छ भन्ने आस मारेका छैनन् । २१ वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहेका उनी बुढेसकालमा पसिनाको मूल्य कुरिरहेका छन् । तेह्रथुमबाट जागिर खान उद्योगमा पुगेका उनी २०३९ साल देखिका स्थायी कर्मचारी हुन् । २०६३ सालमा सुरेन्द्रलाल सुवालले उद्योगको अध्यक्ष […]

हेटौँडा । एक साताअघि हेटौँडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलको कोठामा युवतीको हत्या गरी फरार भएका  समिर खानलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार भएका हेटौँडा उपमहानगरपालिका-४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई हेटौँडा उपमहानगरपालिका-५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको […]

देवानगञ्ज । पिता परमेश्वरको नाममा विभिन्न प्रलेभनमा पारी स्व धर्म धर्म त्याग्न लागाई क्रिस्चियन बनाएकाहरु पुनः सनातन धर्म हिन्दुमै फर्कन थालेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिकाका दुई हजार बढीलाइ एक कार्यक्रमको आयोजना गरी मन्त्र उच्चारणका साथ स्वधर्ममा फर्काएका छन्। देवानगञ्जका यतिका मानिसलाई विश्व हिन्दू परिषद नेपालका धार्मिक अभियन्ताहरुले पहल गरेर पुनः हिन्दू धर्ममै फर्काएका हुन् […]