२६ आश्विन २०८२, सोमबार
13-10-2025 , Mon
×

हरिनगर गाउँपालिका सुरक्षित : अध्यक्ष अंसारीद्वारा जनताप्रति आभार प्रकट

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, आश्विन ०१, २०८२

हरिनगर। हालै जेन-जे पुस्ताले समाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरुद्धमा गरेको आन्दोलनमा घुसपैठका कारण देशका धेरै ठाउँमा सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति, व्यवसायिक भवन तथा निजी सम्पत्तिमा तोडफोड, लुटपाट, आग्जनी अशान्ति फैलिए पनि सुनसरीको हरिनगर गाउँपालिका मातहतको कार्यालयहरु भने हरिनगर वासिले देखाएको संयमताका कारण सुरक्षित रहयो।

पालिकाभित्र कुनै किसिमको अप्रिय घटना घटेन, कुनै कार्यालयमा आग्जनी, लुटपाट भएन, पालिका भित्रका जनताले देखाएको जिम्मेवार नागरिक चेतनाको सम्मान गर्दै हरिनगर सरकारका प्रमुख गफार अंसारीले पालिकावासीलाई धन्यवाद दिएका छन्।

नमो अनलाइन डटकम सँगको विषेश कुराकानीमा पालिका अध्यक्ष अंसारीले जेन-जी पुस्ताको आन्दोलन संवेदनशील र उत्तेजनापूर्ण भएको अवस्थामा समेत हरिनगरका जनताले संयमता अपनाउनु पालिका भित्रको शान्ति र सद्भावको उदाहरण भएको बताए।

उनले भने, “देशका धेरै ठाउँमा सम्पत्ति नष्ट भए, कार्यालय जले, सार्वजनिक सम्पत्ति लुटिए, सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको घर जले, व्यवसायिक भवन जले तर हाम्रो पालिकामा सबै सुरक्षित रहनु यहाँका जनताले देखाएको जागरुकता र सहिष्णुताको परिणाम हो। यसका लागि म सम्पूर्ण पालिकावासीप्रति आभारी छु।”

उनले नागरिकका साथै समाजका अगुवा, युवा, सुरक्षाकर्मी, संचारकर्मी र स्थानीय निकायका प्रतिनिधिहरूले संयमता कायम गर्न खेलेको भूमिकालाई पनि विशेष रूपमा प्रशंसा गरे।

अध्यक्ष अंसारीले थपे, “हरिनगर वासिले देखाएको अनुशासन र सद्भावले देशभरि नै सकारात्मक सन्देश दिएको छ।”

स्थानीय बासिन्दाले पनि आफ्नो पालिका शान्त रहनुमा सबैको साझा समझदारी र सहकार्यको भूमिका रहेको बताए। उनीहरूका अनुसार आन्दोलनका बेला कतिपय ठाउँमा तनावपूर्ण वातावरण भए पनि स्थानीय जागरुक अगुवाहरुले सबैलाई संयमित रहन निरन्तर आग्रह गर्दै आएको थियो।

हरिनगर गाउँपालिकामा देखिएको यो सकारात्मक उदाहरणले आन्दोलन जस्तो कठिन परिस्थितिमा पनि नागरिक सचेतना, सहिष्णुता र साझा प्रयासमार्फत समाजमा शान्ति र सुरक्षित वातावरण कायम गर्न सकिन्छ भन्ने सन्देश दिएको स्थानीय वुद्धिजीविहरूको भनाइ छ।