०२ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

हरिनगरको बजेट ५८ करोड, शिक्षा र स्वास्थ उच्च प्राथमिक्तामा

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, आषाढ ०९, २०८२

ब्रहमदेव मेहता

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५८ करोड ५४ लाख २ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

गाउँसभामा प्रस्तुत बजेट उपाध्यक्ष रिमझिम कुमारी भगतले पेश गर्नुभएको हो।

बजेटको संरचनागत विवरण हेर्दा, ४१ करोड ११ लाख रुपैयाँ चालु खर्चतर्फ छुट्याइएको छ, जसमा तलब, प्रशासनिक सेवा, नियमित सेवा सञ्चालन, कार्यक्रम तथा तालीम लगायतका गतिविधिहरू समावेश छन्।

त्यस्तै, १७ करोड ४३ लाख २ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ, जसले पूर्वाधार निर्माण, विकास योजना, सामाजिक तथा आर्थिक रुपान्तरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै यी दुई क्षेत्रमा मात्रै ५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। यस अन्तर्गत विद्यालयहरूको गुणस्तरीय सुधार, छात्रवृत्ति, स्वास्थ्य चौकी सुदृढीकरण, स्वास्थ्य उपकरण, औषधी तथा मानव स्रोत व्यवस्थापन समावेश गरिएको छ।

त्यस्तै, कृषि तथा पशु सेवा, सहकारी, गरिबी निवारण र रोजगार सिर्जनामा समेत गाउँपालिकाको ध्यान केन्द्रित देखिन्छ।

लघु उद्यम विकास कार्यक्रम, कृषि उपकरण अनुदान, पशु सेवा विस्तार, सहकारी प्रवर्द्धन, तथा रोजगार सेवा केन्द्र सञ्चालनका लागि १ करोड ६ लाख १० हजार रुपैयाँको विनियोजन गरिएको छ।

पूर्वाधार विकासका लागि ९ करोड ९२ लाख ६५ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ४१ लाख रुपैयाँ, र सुशासन तथा संस्थागत विकासतर्फ ९१ लाख ९० हजार रुपैयाँ छुट्याइएको छ।

राजस्व पक्षतर्फ हेर्ने हो भने— संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त तथा समपुरक अनुदान मार्फत ४२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै, कोशी प्रदेश सरकारबाट पनि समानीकरण, समपुरक र विशेष अनुदान मार्फत २ करोड रुपैयाँको सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।

हरिनगर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड २० लाख ७० हजार ८ सय ९७ रुपैयाँको बजेट ल्याएको थियो।

यस वर्षको बजेट विगतको तुलनामा करिब ४ करोड ३३ लाख रुपैयाँले बढी रहेको छ, जसले गाउँपालिकाको सेवा प्रवाह, विकास योजनाहरू, सामाजिक क्षेत्र तथा पूर्वाधार निर्माणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।