
देवानगञ्ज । कोशी प्रदेशको राजधानी विराटनगरसँग देवानगञ्ज गाउँपालिकालाई जोड्ने मुख्य सडक खण्डमा वर्षाको समयमा पानीको उचित निकास नहुँदा स्थानीयवासी, विद्यार्थी, सर्वसाधारण, पैदल यात्री र सवारी चालकहरूलाई सास्ती खेप्नुपरेको छ।
विशेषतः देवानगञ्ज बजार भन्दा पूर्वतर्फ पर्ने खण्डमा वर्षा हुँदा पानी सडकमा जम्मा भएर लामो समय सम्म नसुक्ने गरेको स्थानीयले बताएका छन्।
दैनिक सयौँको संख्यामा मानिसहरू ओहोरदोहोर गर्ने उक्त बाटोमा पानि जम्ने गरेको कारण आवतजावतमा असहज भई रहेको छ।
कोशी प्रदेश सरकार अन्तर्गत पर्ने यो सडक पानीको निकासलाई ध्यानमा नराखी बटो निर्माण गरेको कारण अहिले आएर समस्या उत्पन्न भएको हो।
पानी जम्दा सडकमा खाल्डाखुल्डी लुक्ने भएकाले मोटरसाइकल र साइकल चढ्नेहरू बढी प्रभावित छन्। केही दिन अगाडि एक स्कूले विद्यार्थी पानी जमेको खाल्डोमा लडेर घाइते भएका थिए। यस्ता घटना बारम्बार भइरहे पनि जिम्मेवार निकाय मौन बसेको स्थानीयको आरोप छ।
स्थानीयहरूका अनुसार गाउँपालिकाको तर्फबाट केही निरीक्षण गरिए पनि समस्याको समाधानका भने भएको छैन। पानी निकासको समस्या दीर्घकालीन समाधान नभएसम्म हरेक वर्ष यही सास्ती झेल्नुपर्ने अवस्था आउने भएकाले तत्काल योजना बनाई कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरूको माग छ।
संघीय सरकार र प्रदेश सरकार अन्तर्गत पर्ने सडक निर्माण तथा मर्मत सम्भार स्थानिय सरकारले गरेमा मलेपले बेरुजु राख्ने गरेको भए पनि देवानगञ्ज सरकारले यो समस्याको समाधान गर्न पहलकदमी लिनुपर्ने देखिन्छ।
स्थानीय तथा बाह्यबाट आवतजावत गर्ने सर्वसाधारणको मागलाई सम्बोधन गरी समयमा समस्याको समाधान गर्न जरुरी छ।