विराटनगर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरी आफ्नो क्षेत्रलाई नमूना बनाउने संकल्पका साथ अगाडि बढिरहेकी छन् । नेकपा एमालेकी नेतृ तथा पूर्वमन्त्रीसमेत रहेकी चौधरीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा होमिएकी हुन् ।
सुनसरीको सामान्य किसान परिवारमा जन्मे, हुर्केर राजनीतिमा आएकी चौधरीले यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई हराउँदै संघीय सांसद बनेकी थिइन् । गच्छदारले २०४८ सालदेखि २०७४ सम्म एकछत्र राज गरेको यस क्षेत्रमा २०७९ सालको संसदीय निर्वाचनमा भने भगवतीले बाजी मारेकी थिइन् ।
गच्छदारको तीन दशक लामो राजनीतिक विरासत भत्काउँदै भगवतीले जिते पनि जेनजी आन्दोलनपछि संसद् विघटन भयो । जसकारण उनले कार्यकाल पूरा गर्न पाइनन् । भगवती फेरि आफ्नो जित दोहोर्याउने दाउमा छिन् भने गच्छदार भने गुमेको विरासत फर्काउने प्रयासमा छन् । अझ, आफूले पूरा कार्यकाल काम गर्न नपाएका कारण मतदाताको चहानाअनुसार विकास निर्माणका काम गर्न नपाएको बताउने उनी अब यसपछि निर्वाचित भएको अधुरो योजना पूरा गर्ने लक्ष्यमा छिन् ।
२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चौधरी गच्छदारसँगै झिनो मतान्तरले पराजित भएकी थिइन् । यस क्षेत्रबाट २२ जनाले उम्मेदवारी दिए पनि गच्छदार र भगवतीबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेकी चौधरीले २०४८ सालमा अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी हुन् । सोही वर्ष उनले नेकपा एमालेको पार्टी सदस्यता लिएकी हुन् । चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनको नेतृत्वमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था सञ्चालनमा छ ।
चौधरीले २०५१ सालमा फरवार्ड एनजिओ स्थापना गरेर लघुवित्त अभियानबाट सामाजिक कार्यमा सक्रिय भएकी थिइन्, उनी । त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी लघुवित्तमार्फत महिलाको आर्थिक तथा सामाजिक विकासमा योगदान दिएर चर्चामा आएकी थिइन् ।
उनले एमालेको महिला संगठन अखिल नेपाल महिला संघमा समेत लामो समय काम गरेकी छिन् । २०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनेकी थिइन् । सोही वर्ष पहिलो संविधानसभा सदस्य भएकी उनी वन तथा भू–संरक्षण राज्यमन्त्रीसमेत भएकी थिइन् । २०७० सालमा कोसी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी थिइन् ।
चौधरी २०७९ माघ ३ गते नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा मन्त्री बनेकी थिइन् । माओवादीले एमालेसँगको सत्ता सहकार्य त्यागेर कांग्रेससँग गठबन्धन गरेपछि उनले राजीनामा दिएकी थिइन् । त्यसभन्दा अगाडि भने २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद रहेकी उनी वन तथा भू–संरक्षण राज्यमन्त्री बनेकी थिइन् ।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचन र २०७४ सालको संसदीय निर्वाचनमा गरी दुई पटक गच्छदारसँगको प्रतिस्पर्धामा पराजित भएकी चौधरीले तेस्रो प्रयासमा संसदको यात्रा तय गर्न सफल भएकी थिइन् ।