१० जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

कोशीमा नीति तथा कार्यक्रममा निरन्तर छलफल, धार्मिकस्थलका विषयमा स्पष्ट दृष्टिकोण र कार्यक्रम राख्नुपर्ने माग

Logo
नमो अनलाईन प्रकाशित सोमबार, जेठ १०, २०८३

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति तथा कार्यक्रमको छलफलले निरन्तरता पाएको छ ।

छलफलमा सत्तापक्ष एवं प्रतिपक्षले मिश्रित प्रतिक्रियासहित सुझाव दिएका छन् । छलफलमा कोशी प्रदेशसभा सदस्य निमसरी राजवंशीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धार्मिकस्थलका विषयमा स्पष्ट दृष्टिकोण र कार्यक्रम राख्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य मैया श्रेष्ठले नीति तथा कार्यक्रममा विदेशी मुद्रा आर्जन गर्न सक्ने पर्यटन पूर्वाधार, अलैँची प्रशोधन एवं भण्डारण र बजारको व्यवस्था उल्लेख हुनुपर्ने माग गर्नुभयो । प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या आउन सक्ने विषय हटाउनुपर्ने सुझाव दिँदै नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, जनता आवास कार्यक्रम समेटेकामा खुसी व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागार्इंले समृद्ध र विकसित प्रदेश निर्माण गर्न नीति तथा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य मीना श्रेष्ठलेले आयआर्जनको भरपर्दो स्रोत स्थानीय उत्पादनलाई बजारीकरण गरी युवालाई समाहित गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले नीति तथा कार्यक्रम विगतकै निरन्तरता हो भन्दै बसाइसराइ रोक्न र सुकुमवासी समस्या समाधान गर्न नीति तथा कार्यक्रम मौन रहेको टिप्पणी गर्नुभयो । प्रदेशसभा सदस्य खगेश्वरी पौडेलले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा र स्वास्थ्य जस्ता विषय नीति तथा कार्यक्रमको प्राथमिकतामा रहेकामा खुसी व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य कमला दर्नालले विपद्मा परेका जनताको खोज, उद्धार र राहतका कार्यक्रम ठोस ढङ्गले कार्यक्रममा समावेश गर्न माग गर्नुभयो । प्रदेशसभा सदस्य जीवन आचार्यले विराटनगरलाई डुबानबाट जोगाउन नीति तथा कार्यक्रममा कुनै पनि कार्यक्रम नरहेकाले समावेश गर्न माग गर्नुभयो ।

प्रदेशसभा सदस्य गीतादेवी रेग्मीले नीति तथा कार्यक्रमले महिला सशक्तिकरण र युवालाई उद्यमी बनाउन मद्दत गर्ने बताउनुभयो । प्रदेशसभा सदस्य यशोदा कायस्थले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य,कृषि, पर्यटन, महिला र युवा लक्षित कार्यक्रम समावेश भएकामा खुसी व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य निरन राईले विपन्न र पछाडि परेका वर्गका निम्ति ल्याएको कार्यक्रमसँगै हिमाल, पहाड तथा तराईलाई समेट्ने गरी आएको नीति तथा कार्यक्रमले प्रदेश समृद्ध एवं बलियो हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य तारादेवी ढकालले अध्ययन एवं अनुसन्धानविना ल्याइएको नीति तथा कार्यक्रममा समावेश भएका विषयलाई कार्यान्वयनमा समस्या आउनेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य राजन किराँतीले विगतको निरन्तरतालाई भङ्ग नगर्ने हो भने अहिले युवा पुस्तालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने दाबी गर्नुभयो ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभाका सदस्य किशोरचन्द्र दुलाल र ममता तामाङले प्रदेशको विविध समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

error: Content is protected !!