नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का उमेदवार सुजन लामा यो क्षेत्रको मतपरिणामको निर्णायक मतदाताको रुपमा रहेका इनरुवा र दक्षिणवर्ती क्षेत्रमा जोडबल गर्न थालेका छन ।
विगत तीन दिनदेखि इनरुवाको विभिन्न वडाहरुमा आफ्नो चुनावी अभियानसँगै सोही ठाँउमा बसेर छलफल गर्दै आएका सुजनले बुधवार इनरुवा ६, इनरुवा ५ र इनरुवा १ को मुख्य बजार क्षेत्रमा आफूलाई सक्रिय पारेका छन ।
उनले आफ्नो पार्टीको योजना, घोषणा पत्र र प्रतिवद्धता सहित इनरुवा नगरपालिका १ का मतदातासँग भेटघाट गरेका छन ।उनी स्थानीयसँग आफ्नो पार्टीको योजना, चुनावी प्रतिवद्धता र नेकपा ऐमालेको आवश्यकता बारेमा जानकारी दिदै मत माग्न इनरुवा नगरपालिकावडा नम्बर १ मा आएका हुन ।
लामालाई पार्टीको नेता सुनसरी क्षेत्र नं २ का निवर्तमान सांसद, पुर्व मन्त्री भिम प्रसाद आचार्य लगायतको सहभागितामा भेटघाट र घरदैलो गरेका हुन ।
इनरुवाका अगुवा नेताहरुको अगुवाइमा यस निर्वाचन क्षेत्र २ का एमाले उम्मेदवार सुजन लामाको घर दैलो अभियान इनरुवा – १ शान्ति चौकमा आचार्यले लामालाई खादामाला लगाउँदै बिजयको शुभकामना दिएर अभियानको शुरुवात गरेका थिए ।
मनोनयन दर्तासँगै इटहरी र रामधुनी नगरपालिकामा रहेको ठूलो संख्याको मतदाताहरुको घरघरमा पुग्दा दक्षिणवर्ती क्षेत्रका मतदाता अन्यौलमा परिरहेको बेला उक्त अभियान कार्यक्रममा पार्टीको सुनसरी एमाले नेताहरु अग्रभागमा देखिएका छन ।
सुनसरी–२ को निर्वाचनमा पहिलो पटक उत्तरी भूगोल निर्णायक बन्दैशशी कोइराला, सुनसरी । सुनसरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा यसपालि पहिलो पटक उत्तरी भूगोल निर्णायक बन्ने संकेत देखिएको छ ।
विगतका निर्वाचनमा दक्षिण भेगको मत निर्णायक मानिँदै आएकोमा यसपटक इटहरी र रामधुनी केन्द्रित उत्तरी क्षेत्रबाट आउने मतले परिणाम उल्ट्याउने सम्भावना बढेको हो ।
सुनसरी–२ मा इटहरी उपमहानगरपालिकाका १० वटा वडा, रामधुनी नगरपालिकाका ६ वडा, इनरुवा नगरपालिकाका ६ वडा, हरिनगर गाउँपालिकाको १ वडा र देवानगञ्ज गाउँपालिकाका ७ वटा वडा पर्दछन् ।
परम्परागत रूपमा इनरुवा, हरिनगर र देवानगञ्ज पर्ने दक्षिण क्षेत्रबाट सघन मत आएपछि चुनावी परिणाम त्यतैबाट तय हुने गरेको थियो । कतिपय निर्वाचनमा उत्तरी भूगोलबाट कांग्रेसभन्दा बढी मत लिएर आएका उम्मेदवार पनि दक्षिणको ठूलो हिस्सा कांग्रेसतर्फ गएपछि पराजित हुने अवस्था बनेको स्थानीय राजनीतिक इतिहास छ ।
तर अहिले राजनीतिक समीकरण र मतदाताको मनोविज्ञान दुवै बदलिएको देखिन्छ । इटहरीका १० वडामा सुनसरी–२ भित्रकै सबैभन्दा बढी मतदाता रहेका छन् ।
त्यसपछि रामधुनी नगरपालिकामा मतदाताको संख्या ठूलो छ । त्यसपछि देवानगञ्ज, इनरुवा र हरिनगर क्षेत्रको मत छ । मतदाताको संख्याको हिसाबले पनि उत्तरी क्षेत्र अब ‘निर्णायक ब्लक’ बन्दै गएको छ ।
यसपालि दक्षिण क्षेत्रको निर्णायक हैसियत कमजोर हुनुको प्रमुख कारण नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दक्षिण भेगमा संगठन मजबुद बनाउँदै मतदातालाई आकर्षित गर्न थालेको मानिएको छ ।
स्थानीयस्तरमा कांग्रेस र एमालेका केही समर्थकहरू समेत रास्वपातर्फ आकर्षित भएको देखिँदा दक्षिणमा पहिलाजस्तो कांग्रेसको पक्षमा सघन मत जाने अवस्था कमजोर बनेको छ ।
विश्लेषकहरूका अनुसार दक्षिणमा कांग्रेसलाई दुईवटा चुनौती एकसाथ देखिएको छ—पहिलो, पार्टीभित्रकै गोप्य अन्तरघातको आशंका, दोस्रो, परम्परागत मतदाताको रास्वपाप्रतिको आकर्षण ।
यसले कांग्रेसलाई दक्षिण भेगमा रक्षात्मक अवस्थामा पुर्याएको छ भने आफ्नो मत जोगाउने ठूलो चुनौती थपिएको छ ।अर्कोतर्फ, उत्तरी भूगोल सधैं नेकपा एमालेका उम्मेदवारको बलियो आधार मानिँदै आएको छ ।
तर यसपटक उत्तरी क्षेत्रमा पनि रास्वपाको उपस्थिती बलियो बन्दै जाँदा एमालेले परम्परागत मत जोगाउनुपर्ने चुनौती सामना गरिरहेको छ । यदि एमालेले इटहरी र रामधुनीबाट स्पष्ट लिड निकाल्न सकेन भने दक्षिण क्षेत्रमा गएर जित सुरक्षित गर्न कठिन हुने देखिन्छ ।दक्षिण क्षेत्रमा मत दलसँगै जाति, भूगोल र धर्मका आधारमा विभाजित हुने प्रवृत्ति पनि बलियो रहेको बताइन्छ ।
यसले धेरै मत स्वतन्त्र उम्मेदवारतर्फ पनि जाने सम्भावना बढाएको छ । तर उत्तरी क्षेत्रमा भने त्यस्तो विभाजन कम देखिन्छ, जसका कारण उत्तरी भूगोलबाट आउने ‘सिधा मत’ निर्णायक हुने सम्भावना अझ बढेको छ ।
यसपटक इटहरीबाट अधिकांश उम्मेदवार रहेको कारण त्यहाँ भोट काटाकाटको अवस्था पनि देखिएको छ । इटहरीकै मत विभाजित हुँदा कसैले ठूलो लिड निकाल्न नसक्ने जोखिम छ । यही कारण रामधुनीको मत समेत निर्णायक बन्न सक्ने अनुमान गरिएको छ ।स्थानीय राजनीतिक जानकारहरूका अनुसार अब सुनसरी–२ मा
“दक्षिणले जिताउने” पुरानो मान्यता कमजोर हुँदै “उत्तरले जिताउने” नयाँ वास्तविकता जन्मिँदैछ । समग्रमा, इटहरी र रामधुनीबाट बलियो लिड लिएर आउने दल वा उम्मेदवारले नै अन्ततः चुनाव जित्ने सम्भावना बढेको निष्कर्ष निकालिएको छ ।