०७ फाल्गुण २०८२, शुक्रबार
20-02-2026 , Fri
×

आसन्न चुनाव नियमित जस्तो नभएर विशेष भएको  : मनोज अग्रवाल

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, फाल्गुण ०६, २०८२

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर–५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोजकुमार अग्रवालले आसन्न चुनाव नियमित जस्तो नभएर विशेष भएको बताएका छन् । घरदैलो कार्यक्रममा आममतदातासँगको छलफलका क्रममा नेकपा एमालेबाट संघीय सांसदको उम्मेदवार बनेका अग्रवालले जेनजी विद्रोहपश्चात हुन लागेको निर्वाचन विशेष भएको बताएका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मागअनुरूप हुन लागेको यो चुनावले देश परिवर्तनको अर्थ बोक्ने भएको उनले स्मरण गराए । यसैकारण मतदाताले सही नेतृत्व छान्नका लागि आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

भ्रष्टाचार न्युनीकरण, सुशासनलगायत माग राखेर सडकमा उत्रिएको जेनजी पुस्तालाई आफूहरूले सम्झाउन नसकेको भनाइ उनको छ । यी विषयहरूमा एमाले नेतृत्वको सरकारले काम गरिरहेको भए पनि सम्झाउन नसक्दा जेनजी पुस्ता आन्दोलनमा उत्रिएको धारणा उनको छ । तथापि, अब देश र संविधान जोगाउने बाटोमा एमाले रहेका कारण आममतदाताले सूर्य चिह्नमा मतदान गर्नुपर्ने उनको तर्क छ ।

विकासका हिसाबले पिछडिएको आफ्नो क्षेत्रलाई उकास्न उम्मेदवारी दिएको बताउने अग्रवालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीस्वरूप घरदैलो कार्यक्रम गरिरहेका छन् । आममतदाताको घरदैलोमा आफ्ना एजेन्डा पुर्‍याउन लागिपरेका उनी निर्वाचन क्षेत्रका विभिन्न पालिकाका वडाहरुमा पुगेर चुनावी तयारी र रणनीतिबारे भलाकुसारी गरिरहेका छन् ।

एमालेले पछिल्लो १० वर्षमा पहिलोपटक आफ्नै उम्मेदवारको रूपमा अग्रवाललाई उठाएको हो । विगतका दुई निर्वाचनमा एमालेका मतदाताले आफ्नै चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न पाएका थिएनन् । २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो र एमालेले माओवादीका शिवकुमार मण्डललाई समर्थन गरेको थियो ।

२०७९ को निर्वाचनमा एमालेले जसपा नेपालसँग तालमेल गर्दै जसपाका उम्मेदवार जयराम यादवलाई समर्थन गरेको थियो । यद्यपि, सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए ।

error: Content is protected !!