ब्रहमदेव मेहता
विराटनगर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस बाट सुनसरी–२ का उम्मेदवार रहेका राजीव कोइराला ले आफ्नो निर्वाचन क्षेत्रका लागि ‘१० बुँदे प्रतिबद्धता’ सार्वजनिक गरेका छन्।
कोइरालाले सार्वजनिक गरेको प्रतिबद्धतामा सरकारी सेवा सहज बनाउनेदेखि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनेसम्मका विषय समेटिएका छन्।
उनले सरकारी कार्यालयमा सेवाग्राहीले बिचौलिया, भनसुन, घुस वा लामो लाइनको झन्झट बेहोर्नु नपर्ने व्यवस्था मिलाउने वाचा गरेका छन्।
त्यस्तै, विकास निर्माणका कार्य गुणस्तरीय र समयमै सम्पन्न गराउने, किसानलाई सिँचाइ, बीउ–मल र बजार सुनिश्चित गर्ने तथा स्थानीय बजारलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले शिक्षा र रोजगारीका लागि युवालाई बाहिर जानु नपर्ने वातावरण बनाउने, शुद्ध खानेपानी, बिजुली, सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा सुनिश्चित गर्ने तथा कला, सीप र ज्ञानको सम्मान गर्ने बताएका छन्।
सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने, राष्ट्रघाती सन्धि–सम्झौताका विपक्षमा उभिने र भ्रष्टाचार तथा अनियमितताविरुद्ध कडा अडान लिने उनको अर्को प्रतिबद्धता छ।
निर्वाचनको मुखमै सार्वजनिक गरिएका यी प्रतिबद्धता मतदातामाझ कत्तिको विश्वासयोग्य ठहरिन्छन् भन्ने अबको चुनावी प्रतिस्पर्धामा परीक्षण हुने देखिएको छ।
यस्ता छन् कोइरालाले उल्लेख गरेका १० प्रतिबद्धता :
१. मेरो निर्वाचन क्षेत्रभित्र रहेका सरकारी कार्यालयहरूबाट नागरिकहरूले संविधान र कानुनले दिएको सेवा, सुविधा वा अधिकार प्राप्त गर्न कुनै बिचौलियाको भर पर्नु पर्दैन। कुनै भनसुन वा सिफारिस लिनु पर्दैन। अतिरिक्त रकम (घुस) दिनु पर्दैन, दिनभर लाइनमा बस्नु पर्दैन। सरकारी सेवकबाट चर्को र रूखो व्यवहार सहनु पर्दैन।
२. मेरो निर्वाचन क्षेत्रभित्र हुने विकास निर्माणसम्बन्धी कुनै पनि कार्य गुणस्तरहीन हुँदैन। तोकिएको समयसीमाभन्दा बढी लम्बिँदैन र अनियमितता तथा भ्रष्टाचार हुँदैन।
३. मेरो निर्वाचन क्षेत्रका किसानहरूले आफ्ना खेतबारीमा समयमै पर्याप्त सिँचाइ, बीउ र मलको सुविधा पाउनेछन्। उब्जिएको उत्पादनले उचित मूल्य र पर्याप्त बजार पाउनेछ।
४. मेरो निर्वाचन क्षेत्रभित्रका बजारहरू अझ बढी चलायमान हुनेछन्।
५. मेरो निर्वाचन क्षेत्रका विद्यार्थी तथा युवाहरू शिक्षा र रोजगारीका लागि अन्यत्र जानु पर्ने अवस्था अन्त्य गरिनेछ।
६. मेरो निर्वाचन क्षेत्रका नागरिकहरू शुद्ध खानेपानी, बिजुली, सडक, शिक्षा र स्वास्थ्य उपचारजस्ता आधारभूत सेवाबाट वञ्चित हुने छैनन्।
७. मेरो निर्वाचन क्षेत्रका नागरिकहरूको कला, सीप र ज्ञानले उचित प्रोत्साहन, सम्मान र मूल्याङ्कन पाउनेछ।
८. मेरो निर्वाचन क्षेत्रको सामाजिक वातावरण सभ्य, सुरक्षित, सद्भावपूर्ण र धार्मिक सहिष्णुताले भरिपूर्ण बनाइनेछ।
९. म सांसदको भूमिकामा कुनै पनि राष्ट्रघाती सन्धि, सम्झौता वा विधेयकको पक्षमा उभिने छैन।
१०. म सांसदको भूमिकामा कुनै पनि भ्रष्टाचार, अनियमितता र बदनियतविरुद्ध शून्य सहनशीलताका साथ अडान लिनेछु।