११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

भगवती चौधरीलाई जिताउन ३०० बढी जेनजी एमालेमा प्रवेश

Logo
नमो अनलाईन प्रकाशित सोमबार, फाल्गुण १०, २०८२

बिराटनगर। सुनसरीका ३०० भन्दा बढी जेनजी युवा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । इटहरीमा आयोजित जेनजीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सो क्षेत्रका ३०० युवाहरू भगवती चौधरीलाई जिताउने अभियानमा जोडिँदै एमालेमा प्रवेश गरेका हुन् ।

सो अवसरमा जेनजी युवालाई स्वागत गर्दै उम्मेदवार चौधरीले जेनजीका माग र मुद्दा नेकपा एमालेले मात्र सम्बोधन गर्न सक्ने जिकिर गरिन् ।

एमाले देश र जनताको सच्चा पार्टी भएको चर्चा गर्दा चौधरीले भदौ २३ र २४ गतेपछिको विषम परिस्थितिबाट मुलुकलाई अगाडि बढाउन एमालेले निर्णायक भूमिका खेलेको र पछिल्लो समय युवाका माग र मुद्दाप्रति केन्द्रित भएर घोषणा पत्र तयार पारेको पनि बताइन् ।

उनले देश विकास गर्न युवामा लगानी गर्नुपर्ने बताउँदै युवालाई देशमै स्वरोजगार बनाउनु पर्ने उल्लेख गरिन् । त्यो काम एमालेले गर्ने उनको भनाइ छ ।

देशभर ५० हजार भन्दा बढी महिलालाई उद्यमशील बनाउन सफल चौधरीले २ हजार बढीलाई रोजगारी दिनुका साथै आफ्नो क्षेत्रमा मात्रै सयौं गरिब, विपन्न तथा असहाय नागरिकलाई सुरक्षित घर बनासकेको बताइन् ।

आउँदो समय आफ्ना क्षेत्रका गरिब, विपन्न नागरिकलाई ५ सय घर निर्माण गरिदिने प्रतिबद्धता जनाएकी चौधरीलाई विकासप्रेमी नेतृका रूपमा लिइन्छ ।

सुनसरी ३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागी गराएर कार्यक्रम आयोजना गरेको कार्यक्रमका अध्यक्ष सविन श्रेष्ठले बताए ।

सुनसरी ३ का चुनावी कमान्डर लिलम बस्नेतले भगवती चौधरीलाई ११ हजार बढी मतान्तरले जिताउने प्रतिबद्धता व्यक्त गर्दै त्यस कार्यमा युवाको सक्रिय सहभागिताको अपेक्षा गरे ।

चौधरी जनताका हरेक सुख दुखःमा साथ दिने नेतृ भएकोले उनलाई पुनः जिताएर पठाए क्षेत्रको मात्र नभइ समग्र देशको हित हुने बस्नेतको भनाइ छ ।

error: Content is protected !!