१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

झापामा १२ करोड भारतीय रुपैयाँ ठगी योजना विफल, एक नेपाली सहित छ जना पक्राउ

Logo
नमो अनलाईन प्रकाशित बुधबार, फाल्गुण १२, २०८२

बिराटनगर । नेपाल–भारत सीमावर्ती क्षेत्रलाई आधार बनाएर भारतीय व्यवसायीहरूलाई लक्षित गरी १२ करोड भारतीय रुपैयाँ ठगी गर्ने योजनामा सक्रिय गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा ले बुधबार पत्रकार सम्मेलन गर्दै एक नेपालीसहित सात जनालाई पक्राउ गरिएको जनाएको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट गिरोहले नेपालमा व्यापारबाट ठूलो नाफा कमाएको तर कानुनी अड्चनका कारण उक्त रकम नेपाल सरकारका निकायले जफत गरेको भन्ने झुटो कथा तयार पारेर भारतका व्यवसायीहरूलाई ‘पेनाल्टी’ स्वरूप रकम पठाउन दबाब दिने रणनीति बनाएको खुलेको छ । यसक्रममा कोलकाताका एक व्यवसायीलाई नक्कली नोट देखाई १२ करोड भारतीय रुपैयाँ असुल्ने तयारी भइरहेको पाइएको छ ।

नक्कली कागजात र ‘नोट बन्डल’ मार्फत विश्वास दिलाउने प्रयास

पक्राउ पर्नेहरूमा पश्चिम बंगाल र आसपासका विभिन्न स्थानका छ जनासहित झापाको कमल गाउँपालिका–६ का एक नेपाली नागरिक रहेका छन् । गिरोहले नेपाल प्रहरीको नक्कली परिचयपत्र, सरकारी छाप तथा किर्ते कागजात प्रयोग गरी विश्वसनीयता देखाउने प्रयास गरेको अनुसन्धानबाट खुलेको छ ।

घटनाअनुसार मंगलबार साँझ चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेका दुई भारतीय नम्बर प्लेटका सवारीसाधनलाई सशस्त्र प्रहरीले भद्रपुर–८ घोडामारामा जाँचका क्रममा रोकेको थियो । शंकास्पद सामग्री फेला परेपछि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको थियो ।

थप अनुसन्धानका क्रममा मेचीनगर–४ आमडाँगीस्थित एक स्थानबाट २१ वटा टिनका बाकस र २३७ बन्डल नोट आकारका सादा कागज बरामद गरिएको प्रहरीले जनाएको छ । ती बन्डलको माथि र तल सक्कली नेपाली नोट राखी बीचमा सादा कागज राखिएको थियो । प्रत्येक बन्डलमा सरकारी कार्यालयबाट जारी गरिएको जस्तो देखिने पत्र संलग्न गरी भिडियो सन्देश तयार पार्ने गरिएको खुलेको छ ।

क्यासिनो लगानीमार्फत रकम सेतो पार्ने तयारी

प्रहरीका अनुसार गिरोहका मुख्य योजनाकारमध्ये एक अरिन्दम धर काठमाडौँस्थित एक क्यासिनोमा लगानी गरिसकेका व्यक्ति हुन् । ठगीबाट संकलित रकम नेपालका विभिन्न क्यासिनोमा लगानी गरी सेतो पार्ने योजना रहेको आशंका गरिएको छ ।

करिब डेढ महिनाअघि मेचीनगर–४ स्थित एक होटलमा कोठा लिएर नक्कली नोट बन्डल र कागजातको फोटो तथा भिडियो तयार गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसअघि पनि समान प्रकृतिका गतिविधि भएको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान तीव्र पारेको जनाएको छ ।

संगठित अपराधअन्तर्गत अनुसन्धान

बरामद सामग्रीमा नेपाल सरकारको निशान छाप, सरकारी छाप तथा दस्तखत किर्ते कागजात, नेपाल प्रहरीको नक्कली परिचयपत्र र अन्य सरकारी दस्तावेज जस्तै देखिने कागजहरू रहेका छन् । प्रहरीले घटनालाई गम्भीर प्रकृतिको संगठित आर्थिक अपराधका रूपमा लिँदै मुलुकी अपराध संहिता २०७४ अन्तर्गत लिखत सम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही अघि बढाएको जनाएको छ ।

प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी सञ्चालन हुने अन्तरदेशीय आर्थिक अपराध रोक्न दुवै देशका सुरक्षा निकायबीच प्रभावकारी समन्वय अपरिहार्य छ ।

सीमावर्ती बजार क्षेत्रमा सक्रिय यस्ता गिरोहप्रति सतर्क रहन आग्रह गर्दै प्रहरीले कुनै पनि प्रकारको आर्थिक प्रलोभनमा नपर्न र शंकास्पद गतिविधि देखिए तुरुन्त जानकारी दिन सर्वसाधारणलाई अपिल गरेको छ ।

error: Content is protected !!