विराटनगर । विगत वर्षहरूझैँ यस वर्ष मोरङमा होली पर्व धुमधामका साथ मनाउन नपाइने भएको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिएकाले होलीको दिन सार्वजनिक रूपमा भेला, जमघट तथा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले सर्वसाधारणलाई घरमै सीमित भएर पर्व मनाउन आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार यस वर्षको होली निर्वाचनको मौन अवधिसँग जुधेकाले कुनै पनि किसिमको सभा, भेला वा सार्वजनिक कार्यक्रम गर्न नपाइनेछ। उनले होलीका दिन टोल–टोलमा हुने सामूहिक जमघट, नृत्य कार्यक्रम, डीजे बजाउने लगायतका गतिविधि नगर्न आग्रह गरे।
“निर्वाचन पनि एक प्रकारको राष्ट्रिय पर्व हो। त्यसैले सबै जिल्लावासीले घरमै सुरक्षित र मर्यादित रूपमा होली मनाइदिनुहुने अपेक्षा गरेका छौँ,” कोइरालाले भने। उनका अनुसार फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यस अवधिमा कुनै पनि प्रकारका भेला, सभा वा प्रचारात्मक गतिविधि गर्न पाइँदैन। मौन अवधिमा आचारसंहिताविपरीत गतिविधि गरे कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
प्रशासनले होलीका अवसरमा मादक पदार्थ, लागुऔषध सेवन तथा झैझगडा जस्ता अवाञ्छित गतिविधि नगर्न पनि आग्रह गरेको छ। सुरक्षा दृष्टिकोणबाट संवेदनशील समय भएकाले चौक–चौराहामा नाचगान, डीजे तथा भीडभाड नगर्न विशेष अनुरोध गरिएको छ।
यस वर्ष पहाडी क्षेत्रमा फागुन १८ गते होली परेको छ भने त्यसै दिनबाट मौन अवधि सुरु हुँदैछ। निर्वाचनभन्दा ७२ घण्टा अघि मौन अवधि लागु हुने व्यवस्था छ। प्रतिनिधिसभा निर्वाचन भने फागुन २१ गते हुँदैछ।
निर्वाचनका कारण होली जस्तो महत्वपूर्ण पर्वमा केही असुविधा हुन गएकोप्रति प्रशासनले क्षमायाचना व्यक्त गर्दै सबै जिल्लावासीलाई नियम पालना गरी निर्वाचन सफल बनाउन सहयोग गर्न अपिल गरेको छ।