१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

‘जोगी सर’ले कसरी बनाउँदै छन् जनतालाई जोगी ?

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, फाल्गुण १४, २०८२

बिराटनगर। जीवन विकास समाजको सुरुआत गर्नुभन्दा अघि दुई वर्षजति धनपालथान (साविक अमाहिवरीयाती) का विद्यार्थीहरूलाई निःशुल्क ट्युसन पढाएपछि योगेन्द्र मण्डललाई ‘जोगी सर’को उपनाम दिइएको थियो । जनताले सम्मानका साथ दिएको उक्त उपनाम अहिले उनलाई भोट भजाउने अस्त्र बनेको छ ।

२०५४ सालमा लघुबित्त क्षेत्रमा हात हालेका उनै जोगी सरले राजनीतिमा लागेपछि भने आफ्नो सामाजिक छविका कारण बनेको जीवन विकास समाजलाई भोटको ढाल बनाएका हुन् ।

दुरदराजका जनताको आर्थिक जीवनस्तर उकास्नका लागि सुरु भएको जीवन विकासमा ३०औं हजार आवद्ध छन्, जीवन विकासमा उनीहरूको खुन र पसिनाको लगानी छ । एउटा पब्लिक संस्था चलाउँदै आएका जोगी सर र त्यहाँ आबद्ध कर्मचारीहरू मिलेर जनतालाई जोगी बनाउने काममा उद्दत्त देखिएका छन् । जीवन विकासको जगमा २०७९ सालको चुनाव जितेका जोगी सर जनताको लगानीको अर्थविपरीत कम्मर कसेर लागेका हुन् ।

नेकपा एमालेले नपत्याएपछि स्वतन्त्र उम्मेदवारी दिएर सनसनीपूर्ण जित निकालेका जोगी सर सामुदायिक अस्पतालको नाम दिइएको निजी अस्पताल, जीवन विकास लघुवित्त र जीवन विकास डेरीको आडमा स्वार्थको लडाइँ लड्दै छन् । अरूबेला ऋणिलाई रुवाएर ऋण असुल गर्ने गरेका जोगी सरले चुनाव लागेसँगै उनीहरूको ऋण माफ गर्दिने र किस्ता मिनाहा गर्दिने भन्दै प्रलोभनमा पार्ने गरेका छन् ।

त्यतिमात्र नभएर आफ्नो निार्वाचन क्षेत्रका व्यक्तिलाई जागिर लगाइदिने अनि अस्पतालमा निःशुल्क उपचार गर्दिनेलगायतका अनेकौं फन्डा चलाउँछन् । जीवन विकास अस्पतालको प्रबर्द्घनको बहानामा स्थानीय मिडियासँग सम्झौता गर्ने अनि अस्पतालको प्रचार सामग्रीको सट्टा आफूले भोट अपिल गरेको भिडियो पोस्ट गर्न उनले दबाब दिने गरेका छन् ।

अरूबेला जीवन विकास लघुवित्तमा आबद्ध ऋणिहरूमाथि मिटरब्याजको अनुपातमा ब्याज लिएर चौतर्फी आलोचना खेपेका जोगी सर चुनावी अभियानका क्रममा आममतदाताबाट घेरामा पर्ने गरेका छन् । अब, क्षेत्र नम्बर ५ का मतदाता सचेत भइसकेका छन्, अस्पताल र लघुबित्तलाई भोट बैंक बनाउन सफल बनेका जोगी सरलाई यसपटक मतदाताले नै रोक्ने देखिएको छ ।

लघुवित्तमार्फत् बचतकर्ताको उद्दार गरेँ भन्दै ढोल पिट्ने जोगी सर ऋणिहरूलाई जोगी बनाउन सिपालु छन् । त्यसबाहेक सदनमार्फत् सरकारलाई आफ्ना क्षेत्रका समस्या सुनाउन बिर्सिएका जोगी तीन वर्षजति सांसद रहँदा आफू कुन पार्टी प्रवेश गर्ने र सत्तामा कसरी पुग्ने भन्ने विषयमै अल्मलिरहे । क्षेत्र विकासमा उनले चासो नलिँदा जनताले सधैं सास्ती भोगिरहनुपर्यो ।

अघिल्लो निर्वाचनबाट निर्वाचित भएपछि केही दिन सामुदायिक विद्यालय र सार्वजनिक अस्पतालको शौचालय सफा गरेर अरूको ध्यान खिचेका उनी यसपालिको निर्वाचनमा भने चौतर्फी घेराबन्दीमा छन् । विशेषगरी बलिया प्रतिद्वन्द्वीको आगमन र नयाँ दलको जनलहरले गर्दा उनलाई फागुन २१ गते हुने संसदीय निर्वाचन सकसपूर्ण छ ।

error: Content is protected !!