१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

अंश विवाद चर्किँदा ‘अपहरणको नाटक, वृद्ध बुवाआमामाथि मुद्दा

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, बैशाख १२, २०८३

तस्विर : नमो आलाईन

ईनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ मा पारिवारिक अंश विवादले नयाँ मोड लिएको छ। सदरुल मन्सुरी र उनका बुवा उमर मियाँबीच केही वर्षदेखि चल्दै आएको अंश सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै बेला छोराले आफ्नै बुवाआमाविरुद्ध अपहरणको मुद्दा दर्ता गराएको घटना सार्वजनिक भएको हो।

परिवार स्रोतका अनुसार अदालतमा पेशीको अघिल्लो दिन सदरुलले आफ्नी आमा अमिरिका खातुन र बुवा उमर मियाँलाई कुटपिट गरेको आरोप छ। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए। पछि भारतको बिहार राज्यस्थित कर्जाइन क्षेत्रबाट आफू अपहरणमुक्त भएको दाबी गर्दै भारतीय प्रहरीसमक्ष बयान दिएका थिए।

उता कुटपिटबाट घाइते भएका बुवाआमा उपचारपछि अदालतमा हाजिर हुन जाँदै गर्दा वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। घटनाले चर्चा पाएपछि प्रहरीले उमर मियाँ, अमिरिका खातुनसहित परिवारका अन्य केही सदस्यविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दा दर्ता गरेको बताइएको छ।

घटनाको अर्को दिन सदरुलकी बहिनी रुखशाना खातुनले सञ्चारमाध्यममार्फत उक्त घटना योजनाबद्ध र कपोलकल्पित भएको दाबी गरेकी छन्। उनले दाजुले लामो समयदेखि अंश विवादका कारण बुवाआमामाथि दबाब, दुर्व्यवहार र मानसिक यातना दिँदै आएको आरोपसमेत लगाएकी छिन्।

रुखशानाले प्रारम्भिक अनुसन्धानबिनै हतारमा मुद्दा दर्ता गरी वृद्ध बुवाआमालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी छिन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको अनुसन्धान जारी रहेको र सत्यतथ्य सार्वजनिक गरिने जनाएको छ।

अपहरणजस्तो गम्भीर प्रकृतिको घट्ना सार्वजनिक भए पछि प्रहरिले मुद्दा दर्ता गरी आरोपित व्यत्तिहरुलाई पक्राउ गरी जिल्लामै असाधारण घटनाका रूपमा चर्चा भइरहेको छ।

error: Content is protected !!