विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्न सक्ने आशंकामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’सँग आबद्ध मोरङका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बूढीगंगा गाउँपालिका–७ का अन्दाजी ४७ वर्षीय डोलेश्वर रेग्मी, पथरीशनिश्चरे नगरपालिका–३ का अन्दाजी ६३ वर्षीय सूर्य चौधरी र अन्दाजी ५८ वर्षीय चूडामणि राई रहेका छन् । रेग्मी मोरङ जिल्ला संयोजक हुन् भने चौधरी र राई कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
मोरङका प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार निर्वाचन विरोधी गतिविधि सञ्चालन गरेर चुनाव बिथोल्ने सम्भावना देखिएकाले उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो । उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । निर्वाचन विरोधी गतिविधिमाथि निगरानी बढाइएको र शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सुरक्षा रणनीति कडा बनाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।