१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै मोरङसहित देशभरका सीमा नाका सोमबार राति १२ बजेदेखि सिल

Logo
नमो अनलाईन प्रकाशित सोमबार, फाल्गुण १७, २०८२

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै मोरङसहित देशभरका सीमा नाका सोमबार राति १२ बजेदेखि सिल गरिने भएका छन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल–भारत खुला सीमाबाट हुन सक्ने सम्भावित आपराधिक गतिविधि रोक्न यो निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार फागुन १८ गते राति १२ बजेदेखि सीमा नाका पूर्ण रूपमा बन्द गरिने जानकारी दिएका छन । निर्वाचन सम्पन्न भएपछि फागुन २१ गते बेलुका १२ बजेसम्म सीमा नाका बन्द रहने जनाइएको छ।

उनका अनुसार सीमा क्षेत्रमा प्रहरीको कडा निगरानी बढाइएको छ। रातिको समयमा समेत सवारी साधन चेकजाँचलाई तीव्र पारिएको छ भने शंकास्पद व्यक्ति वा वस्तु भेटिए नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइनेछ। निर्वाचनका दिन आकस्मिक अवस्था परेमा वा देश बाहिर जानुपर्ने विशेष परिस्थितिमा जिल्ला प्रशासन कार्यालयबाट सिफारिस लिएर मात्र आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ।

सीमा क्षेत्रका अधिकांश मतदान स्थल अति संवेदनशील सूचिमा परेकाले प्रशासनले मतदातालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा मतदान गर्न आग्रह गरेको छ। मतदानपछि मतदान स्थलमा भीडभाड नगर्न र प्रशासनलाई सहयोग गर्न सबैमा अनुरोध गरिएको छ। प्रशासनले सीमा नाका बन्द अवधिभर कुनै पनि किसिमका अनावश्यक गतिविधि नगर्न सर्वसाधारणसँग अपिल गरेको छ। तीन दिनपछि फागुन २१ गते निर्वाचन हुँदैछ। सुरक्षा व्यवस्थालाई कडा बनाउँदै प्रशासन निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गराउने तयारीमा जुटेको छ।

error: Content is protected !!