देवानगञ्ज । “खुसी किसान देवानगञ्जको पहिचान” अभियान अन्तर्गत देवानगञ्ज गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको साझेदारीमा सञ्चालन गरेको इन्डक्स तथा सुधारिएको चुलो वितरण कार्यक्रम आजदेखि वडा नं. ६ मा सुरु गरिएको छ।

कार्यक्रमको पहिलो चरणमा वडा नं. ४ बाट वितरण सुरु गरिएको थियो। हालसम्म वडा नं. ४, ५ र ७ मा वितरण सम्पन्न भइसकेको छ, भने अब वडा नं. ६ मा वितरण प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ।

प्रत्येक घरपरिवारलाई लक्षित गरी सञ्चालन गरिएको यो योजना स्थानीयका लागि समयानुकूल र उपयोगी देखिएको छ।
विशेषगरी उर्जा संकटको समयमा सुधारिएको चुलोले इन्धन बचत गर्ने तथा धुवाँको समस्या कम गर्ने भएकाले यस कार्यक्रमले राहत पुगेको लाभग्राहीहरूको भनाइ छ। उनीहरूले गाउँपालिकाको पहलको प्रशंसा समेत गरेका छन्।

यसैबीच, नाम संकलनका क्रममा छुटेका नागरिकहरूलाई आफ्नो परिचयपत्रसहित सम्बन्धित वडा कार्यालयमा गई नाम दर्ता गराउन आग्रह गरिएको छ। छुटेकाहरूलाई दोस्रो चरणमा समेटिने गाउँपालिकाले जानकारी दिएको छ।

