२८ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

सुनसरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै “सेटिङ” मा हुन्छ खुलेआम तस्करी

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, बैशाख २८, २०८३

ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । सुनसरीको हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र बर्जु गाउँपालिका सँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा खुलेआम तस्करी भइरहेको पाइएको छ।

सीमाक्षेत्रमा दैनिक रूपमा कपडा, खाद्यान्न, मलखाद, तरकारी, फलफूल तथा अन्य किराना सामान अवैध रूपमा नेपाल भित्र्याइँदै आएको छ।

हरिनगरको घस्की क्षेत्रबाट विशेषगरी कपडा, खाद्यान्न र मलखादको ठूलो परिमाणमा तस्करी हुने गरेको बताइन्छ। यस्तै, देवानगञ्जको पाँचौ सिमर, कप्तानगञ्ज र साहेवगञ्ज क्षेत्रबाट भारतमा उत्पादित तरकारी, फलफूल, कपडा तथा किराना सामान अवैध रूपमा नेपाल भित्र्याइने गरिएको छ। बर्जुको अमडुवा क्षेत्रबाट भने प्रतिबन्धित माछा, बोइलर कुखुरा, कपडा, खाद्यान्न र किराना सामग्री भन्सार छली गरी मोरङको विराटनगर सम्म पुर्‍याइने गरिएको छ।

स्थानीयवासीले तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सँगको ‘सेटिङ’मै खुला सीमाबाट भन्सार छली गरी सामान भित्र्याउने गरेको आरोप लगाएका छन्।

उनीहरूका अनुसार सीमामा निगरानी कडा बनाइएको दाबी गरिए पनि व्यवहारमा तस्करी नियन्त्रण हुन सकेको छैन। सरकारले स्थलमार्गबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान आयात गर्दा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने व्यवस्था लागू गरेपछि झन् तस्करी मौलाएको व्यवसायीहरू बताउँछन्।

देवानगञ्जका एक व्यवसायीले भने, “नाकामा अहिले रमिता जस्तै भएको छ। प्रहरीले सेटिङमा छोडेको सामान सशस्त्र प्रहरीले समात्ने र सशस्त्रले छोडेको सामान प्रहरीले समात्ने अवस्था छ। सेटिङ मिल्यो भने दुवै निकायबाट उन्मुक्ति पाइन्छ।” उनका अनुसार सीमावर्ती नेपाली बजारहरू अहिले पनि भन्सार छलीका सामानमै निर्भर छन्। “नाकाबाट सय रुपैयाँभन्दा बढीको सामान भन्सार नतिरी ल्याउन नदिने भनिए पनि खुला सीमाको फाइदा उठाएर धमाधम सामान भित्रिरहेको छ,” उनले भने।

सर्वसाधारणलाई कडाइ गरिए पनि ‘क्यारिङ’ गर्ने समूहलाई भने मूल नाकाबाटै सहज आवतजावतको सुविधा रहेको स्थानीयको आरोप छ। सुनसरीका सीमावर्ती क्षेत्रमा अधिकांश पुरुषहरू क्यारिङमा संलग्न रहेको र कतिपय शारीरिक रूपमा अशक्त व्यक्तिलाई समेत तस्करीमा प्रयोग गरिएको पाइएको छ। तिनै व्यक्तिमार्फत भन्सार छलीका सामान नेपाली बजार र पसलसम्म पुर्‍याइने गरिएको बताइन्छ।

सो क्षेत्रहरूमा हुने गरेको तस्करी नियन्त्रणको लागि सुचना (भिडियो) पत्रकार ब्रहमदेव मेहताले सशस्त्र प्रहरी नेपाल नं. ४ गणका गणपति सप्रउ श्याम कुमार कार्की, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव कुमार थेवे र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवाल लाई मात्र दिदा सुचना दिने पत्रकारको सुरक्षाको ख्याल नगरी १२ घण्टा न बित्दै सुचना दिने पत्रकारको पुर्ण विवरण र उपलब्ध गराएको भिडियो तस्कर सम्म पुग्नुले पनि प्रहरी संगको सेटिङ्ग मै तस्करी भइरहेको प्रस्टै बुझ्न सकिन्छ।

सरकारले आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरेपछि केही समय भन्सार जाँचपास प्रक्रिया नै प्रभावित भएको थियो। त्यस अवधिमा वैध आयातमा अवरोध हुँदा चोरी नाकाबाट तस्करी बढेको व्यवसायीहरूको दाबी छ।

हाल भने सरकारले एमआरपी घोषणाकै आधारमा पुनः भन्सार जाँचपास प्रक्रिया सहज बनाएको बताइएको छ।

यता, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्यांकअनुसार पछिल्लो समय ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद भएका छन्। दुवै निकायका अनुसार वैशाख महिनामा मात्रै करोडौं रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिइएको छ।

सुरक्षा निकायले सीमाक्षेत्रमा निगरानी बढाइएको र दैनिक रूपमा भन्सार छलीका सामान नियन्त्रणमा लिइरहेको दाबी गरे पनि धरातलीय अवस्था भने त्यसको ठीक विपरीत रहेको पाईएको छ।

error: Content is protected !!