तस्विर : नमो अनलाइन
बिराटनगर। सुनसरी सदरमुकाम इनरुवामा रहेका एक दर्जन बढी बैंक तथा वित्तिय संस्थादेखि गाउँमा रहेका बैंकबाट अवैध रुपमा कनेक्ट आइपीएस तथा मोवाइल बैकिङ्ग प्रयोग गरी हुण्डी कारोवार र संगठित अपराध हुने गरेको तथ्य फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले गरेको हुण्डी कारोवार, संगठित अपराध र सम्पत्ती सुद्धीकरण सम्बन्धी अपराध अनुसन्धानको घटनामा इनरुवा तथा सुनसरीका गाँउमा रहेका बैंकमार्फत कारोवारीहरुले २ अर्ब ३९ करोड २० लाख ७४ हजार ६ सय ११ रुपैयाँ २१ पैसाको कारोवार भएको फेला परेको हो ।
हुण्डी कारोवार गर्ने गिरोहले संगठित अपराध गर्नका लागि आधुनिक बैकिङ्ग प्रणाली प्रयोग गरि कनेक्ट आएपीएस, ईसेवा, वालेट, मोवाइल बैकिङ्गलगायतका अन्य विद्युतीय डिजिटल माध्यमको सेवा प्रयोग गरि विभिन्न समय मितिमा इनरुवामा रहेका बैंकहरुबाट कारोवार गरेको पाइएको छ ।
हुण्डी कारोवार र संगठित अपराध गर्ने गिरोहले इनरुवामा रहेको एनआईसी एसिया बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, प्राइम कर्मसियल बंैक लिमिटेड, नविल बैंक लिमिटेड, ग्लोबल आइएमी बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, सिटीजन बैंक इन्टरनेशनल लिमिटेड, कृषि विकास बैंक लिमिटेड, हरिनगर, एक्सल डेभलप्मेन्ट बैंक भुटाहा, गरिमा विकास बैंक इनरुवा, लुम्बिनी विकास बैंक हरिनगरा, सप्तकोशी डेभलप्मेन्ट बैंक चिमडी, सिद्धार्थ बैंक लिमिटेड इनरुवा, मञ्जुश्री फाइनान्स लिमिटेडलगायतका अन्य बैक वित्तिय संस्थामार्फत खाता खोलि कारोवार गरेको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले हुण्डी कारोवार संगठित अपराध र सम्पत्ती सुद्धीकरणको अपराधमा १८ जना उपर मुद्दा दर्ता गरि कानुनी कारवाहीसमेत थालेको छ ।
सुनसरी सदरमुकाम इनरुवामा विभिन्न व्यापार व्यवसायको आवरणमा हुण्डी कारोवार गर्ने गिरोह उपर अनुसन्धान जारी भइरहेको अवश्थामा प्रहरी १८ जना उपर पहिलो पटक मुद्दा दायर गरि कारवाहीका लागि सुनसरी जिल्ला अदालत इनरुवामा मुद्दा पेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले हदैसम्मको कानुनी कारवाहीको माग राखी संजयकुमार पोद्दार, अनमोलकुमार पाल, शमसेर आलम, मो. कैसना अन्सारी, महमद ममताज अहमद अन्सारी, सिजयकुमार पोदार, विशालकुमार गुप्ता, खुर्सिद आलम, अरुणकुमार मेहता, प्रकाश पाल, अमरजित कुमार पोद्दार, शम्भुप्रसाद साह, मनिष साह, मो. जैदसना अन्सारी, समसिर अन्सारी, अविनास कुमार गुप्ता, शंकर यादव, विरेन्द्रप्रसाद साह उपर मुद्दा दायर गरेको छ ।
यी मध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि अन्य १६ जना आरोपीहरु भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले हुण्डी सम्बन्धी कसुरको अनुसन्धानको क्रममा मुलुकी अपराध संहिता २०७४ को दफा १२५ क अनुसार हुण्डी कारोवार गर्न नहुने संगठित अपराध निवारण ऐन २०७०, सम्पत्ती सुद्धीकरण निवारण ऐन २०६४ अनुसार कानुनी कारवाहीको माग दावी गरेको छ।
प्रहरिले सुनसरी जिल्ला अदालत इनरुवामा जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीमार्फत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र २०८३ जेठ दोस्रो हप्तामा बुझाएको छ ।
सुनसरी प्रहरीले गाँउबाट सुरु गरेको हुण्डी कारोवारीको गिरोहसँगै सदरमुकाम इनरुवामा विभिन्न व्यापार व्यवसायको आवरणमा अवैध रुपमा हुने करोडौ हुण्डी रकमको कारोबार हुने केन्द्रविन्दु बन्दै गएको सूचनाका आधारमा अनुसन्धान थालेको पाइएको छ ।
देश तथा विदेशमा रकम लेनदेन गर्नका लागि कारोवारीहरुले इनरुवालाई सुरक्षित केन्द्रविन्दु बनाएर हुण्डी कारोवार संचालन गर्दा बिचौलियाको समन्वयमा कानुनी कारवाही गर्ने प्रहरी कै मिलोमतो हुने गरेको पाइएको हो ।
फागुनको दोस्रो साता जिल्ला प्रहरी कार्यालय सुनसरीमा इनरुवा बजारका केही व्यापारीहरु उपर परेको उजुरीका सम्बन्धमा गम्भीरतापूर्वक अनुसन्धान अगाडि बढाएको प्रहरी स्रोतले जनाएको छ ।
हुण्डी कारोवारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवाका केही व्यापारी युवाहरुलाई पक्राउ गरि अनुसन्धानका लागि थुनामा राखेको थियो ।
पक्राउ परेका व्यापारीहरुको तर्फबाट एकजना बिचौलियाले प्रहरीसँग चलखेल गरेर उनीहरुलाई तत्काल हाजिर जमानीमा छुटाएका थिए । प्रहरीले उजुरीकर्ता र पक्राउ परेका बिचमा रकम लेनदेन बिषयमा सहमति कागज गराएर उनीहरुलाई छाडेको थियो ।
स्रोतका अनुसार यही घटनाको उजुरीपछि हुण्डी कारोवारको आश्रय स्थल रहेको तथ्य बाहिर आएपछि प्रहरीले ग्रामिण क्षेत्रबाट हुने कारोवारीबाट अनुसन्धान थालेको थियो ।
प्रहरी स्रोतका अनुसार नेपाल–भारत सीमा जोडिएका कारण नेपाली र भारतीय लगानीकर्ताहरुको रकममा सुनसरी सदरमुकाम इनरुवाका केही व्यापारी युवाहरुले एउटा व्यापार देखाएर हुण्डीको कारोवारमा संलग्न रहेका छन ।
भारतको विरपुरमा घर रहेका लौकहीका व्यापारीसमेत इनरुवामा हुण्डी कारोवारमा जोडिएको पाइएको छ । विभिन्न व्यक्तिहरुले यिनै व्यापारीको माध्यमबाट हुण्डीको रकम बैकमा जम्मा गरेर एक ठाँउको रकम अर्को शहर बजार तथा विभिन्न मुलुकबाट लिने गरेका छन ।
यस समुहको सञ्जाल भारतको दिल्लीसम्म रहेको खुल्न आएको छ । भारतका हुण्डी कारोवारीहरुले यिनै व्यक्तिमार्फत नेपालबाट भुक्तानी दिलाउने र भारतको भुक्तानी नेपालबाट लिने गरेको पाइएको छ ।
सुनसरी सदरमुकाम इनरुवाबाट विशेषगरि विभिन्न धार्मिक संस्थाका नाममा खुलेका ट्रष्ट र वेलफेयरका नाममा ठुलो रकम हुण्डी कारोवारमार्फत हुँदै आएको छ ।
हुण्डी मार्फत रकम लिने उक्त समुहले इनरुवाका विभिन्न बैंकमा रकम जम्मा गरि अन्यत्रैको बैंकबाट रकम निकालेर कारोवार गर्दै आएको स्रोतले दावी गरेको छ ।
इनरुवा बजारमा हुण्डीको कारोवार गर्ने समुहले काठमाण्डौका व्यवसायीलाई रकम दिने गरेको स्रोतले दावी गरेको छ ।
इनरुवाका केही ब्यापारी युवाहरु औषधी पसल कपडा पसल र अन्य व्यापार व्यवसाय देखावटी रुपमा गरेपनि भित्री रुपमा अवैध हुण्डीको कारोवार गर्ने गरेको बताइन्छ । इनरुवाबाट बिराटनगर इटहरी काठमाण्डौसहितका विभिन्न स्थानको कारोवारीको जालोमार्फत इनरुवामा हुण्डीकारोबार हुने गरेको खुलेको छ ।
पछिल्लो समय हुण्डी कारोबार गर्ने सुरक्षित केन्द्रविन्दु इनरुवालाई बनाएर हुण्डीको कारोबार हुने गरेको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत् अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन र यहाँ लिन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा सुनसरी जिल्लामा फष्टाउँदै गएपछि यस प्रकारको अवैध धन्धालाई निरुत्साहित पार्न प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेपनि बिचौलियाले प्रहरीलाई मिलाउने क्रमले कानुनी कारवाही फितलो हुने गरेको छ ।
हुण्डीमार्फत कतिपय नेपालीले कालो धनलाई सेतो पार्न पनि प्रयोग गर्ने गरेको अनुमान प्रहरीको छ । हुण्डी कारोबारीको ठूलो अपराधिक गिरोह नै हुने गरेको बताइन्छ ।
स्रोतका अनुसार भारतका कडाई भएका कारण नेपाल भारत सीमा क्षेत्र नजिक रहेको सुनसरीमा हुण्डीमार्फत आतंकवादी संगठनलाई सहयोग पुग्नेदेखि अवैध सामान ओसारपोसार जस्ता अघन्य अपराधिक क्रियाकलाप हुने गर्छ ।
यस समुहको संञ्जाल भारतको दिल्लीसम्म रहेको खुल्न आएको छ । भारतका हुण्डी कारोवारीहरुले यिनै व्यक्तिमार्फत नेपालबाट भुक्तानी दिलाउने र भारतको भुक्तानी नेपालबाट लिने गरेको पाइएको छ । वर्णमाला दैनिकमा २०८३ जेठ १९ गते प्रकाशित समाचार