मोरङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिलीपकुमार बगडियाले घरदैलोका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएका छन् । चुनावी प्रचार गर्न आफ्नो क्षेत्रका मतदाताहरूको घरदैलोमा पुगिरहेका बगडियाले जनताबाट सकारात्मक प्रतिक्रिया पाएको बताएका हुन् ।
जनताको घरदैलोमा पुग्दा मतदाताहरूले काम गर्ने व्यक्तिलाई उम्मेदवारका रूपमा पाएको भन्दै उत्साहित बनेको बगडियाको भनाइ छ । नगरप्रमुखको रूपमा रहँदा रंगेली नगरपालिकामा कायापलट गरेका बगडियाले समग्र क्षेत्रलाई नमूना बनाउने भन्दै मतदाताले प्रसंशा गर्ने गरेको बगडिया बताउँछन् ।
बिनाकुनै तामझाम टोल–टोल पुगेर मतदातासँग उनीहरूका आशा–अपेक्षा सुन्ने गरेका बगडियाले जनतासँग आफ्ना योजना सुनाउने गरेका छन् । यसअघि पनि यसै क्षेत्रका जनतासँग नजिक भएर सक्रियताका साथ काम गरिरहेका कारण घरदैलोमा पनि सहज भएको बगडियाको भनाइ छ ।
साथै, आफ्नो उम्मेदवारीलाई लिएर मतदाता सकारात्मक र उत्साहित देखिएको बताउँदै बगडियाले सधैंभरि जनभावनाअनुरूप नै काम गर्ने बताएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट विजयी प्राप्त गरेमा क्षेत्रगत विकासका लागि मरिमेट्ने प्रतिबद्धता उनको छ ।