१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

सुनसरीको ५९ वटा मतदानस्थल अति संवेदनशील, सुरक्षामा कडाइ

Logo
नमो अनलाईन प्रकाशित बुधबार, फाल्गुण १२, २०८२

बिराटनगर । सुनसरीका ५९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा परेको छ। धेरै जसो भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदान स्थल अति संवेदनशील सूचीमा परेको हो ।

जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये सुनसरीको बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिकालाई सुरक्षाको हिसावले अति संवेदनशील मानिएको छ ।

सीमावर्ती भेगमा पर्ने उक्त पालिकाका सबै मतदान स्थल सुरक्षाका हिसावमा अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीमा दक्षिणी भेगका अलावा दुहबी नगरपालिकाको ६ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यसैगरी गढी गाउँपालिकाको ३ वटा मतदान स्थल, इनरुवा ९ को ४ वटा मतदानस्थल र धरान ५ को हिमाली मा।वि देउराली मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन् ।

सुनसरी प्रशासनले निर्वाचन लक्षित सुरक्षाका हिसाबले विशेषगरी जिल्लाको दक्षिणी खुला नाकालाई नै मुख्य सुरक्षात्मक चुनौतीका रूपमा हेरेको छ । सोहीअनुसार भारतीय समकक्षीसँगको समन्वयमा सीमा नाकामा कडाई थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नाकाबाट हुने आवतजावत लक्षित गरी दुई तर्फी चेकजाँच बढाइएको प्रशासनले जनाएको छ। नाकाबाट हुनसक्ने शंकास्पद गतिविधि र आपराधिक प्रवृति भएकाहरुबाट हुनसक्ने थ्रेटलाई मध्यनजर गर्दै सर्तकर्ता बढाएको प्रशासनले जनाएको छ ।

धार्मिक सद्भाव कायम राखी रहने, अवाञ्छित कार्य हुन नदिने विषयलाई ध्यानमा राखी सुनसरीमा प्रशासनले निरन्तर रुपमा सर्वपक्षीय र सर्वदलीय बैठक समेतको आयोजना गरिरहेको छ ।विशेषगरी जेन–जी र पुराना दलबीच देखापर्न सक्ने तिक्ततालाई मध्यनजर गर्दै आचारसंहिता कार्यान्वयन र सुरक्षा बन्दोबस्तीमा जोड दिइएको प्रशासनले जनाएको छ ।

समग्र जिल्लाको शान्ति सुरक्षाकालागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी ड्युटीमा परिचालित भैसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा फागुन २१ को निर्वाचनका लागि १ सय ६६ मतदान स्थल र ५९१ मतदान केन्द्र तोकिएका छन् ।यसअघि २०७९ सालको निर्वाचनमा पनि यी अधिकांश मतदान स्थल अति संवेदनशील सूचीमा राखिएका थिए ।

प्रहरीका अनुसार दक्षिणी क्षेत्रका हरिनगर, देवानगञ्ज, बर्जु, गढी, दुहबी तथा उत्तरी क्षेत्रका भोक्राहा–नरसिंह र कोशी गाउँपालिकाका मतदान स्थलहरू जोखिमको दृष्टिले उच्च प्राथमिकतामा पर्ने गरेका छन् ।निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन मतदान स्थलहरूलाई तीन तहमा वर्गीकरण गरी सुरक्षा रणनीति लागू गरिएको प्रहरीले जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि १५० भन्दा बढी नेपाल प्रहरी र ३,१४९ निर्वाचन प्रहरी परिचालन गरिनेछ ।सुरक्षाको दृष्टिले अति संवेदनशील र संवेदनशील क्षेत्रमा मोबाइल टोली, सशस्त्र प्रहरी बल तथा तेस्रो तहमा नेपाली सेना समेत परिचालन गरिने योजना रहेको छ ।

प्रहरी प्रमुख थेबेले निर्वाचन अवधिभर सुरक्षाका सबै उपाय कडाइका साथ लागू गरिने, मतदाता तथा निर्वाचन सामग्रीको सुरक्षा सुनिश्चित गर्दै लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न गरिने विश्वास व्यक्त गरेका छन् ।जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार मत खसाल्न योग्य जिल्लाको कुल मतदाता संख्या ५ लाख ८० हजार ९४५ रहेको छ ।

error: Content is protected !!