बिराटनगर। सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित घुस्की बजारमा बुधबार राति सवारी साधन चेकजाँचका क्रममा भएको झडपमा दुई प्रहरी जवान घाइते भएका छन्। निर्वाचन नजिकिँदै जाँदा सुरक्षा सतर्कता बढाइएका बेला उक्त घटना भएको हो।
जिल्लामा फागुन २१ गते हुने आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा निकायहरूले संयुक्त रूपमा गस्ती, निगरानी तथा सवारी चेकजाँचलाई तीव्रता दिएका छन्।
सोही क्रममा बुधबार राति करिब अबेरसम्म सञ्चालन गरिएको चेकिङका बेला केही युवाहरूले प्रहरीमाथि गालीगलौज गर्दै अवरोध सिर्जना गर्न खोजेको जनाइएको छ।
प्रहरीका अनुसार नियमित चेकजाँचलाई लिएर विवाद सुरु भएको थियो। अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले स्थिति सामान्य बनाउन प्रयास गर्दा झडप भएको हो। झडपमा परी नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी घुस्कीमा कार्यरत प्रहरी जवान राकेश यादव र निर्वाचन सुरक्षामा खटिएका प्रहरी जवान साजिद अंसारी घाइते भएका हुन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको र अवस्था सामान्य रहेको स्रोतले जनाएको छ।
घटनापछि थप सुरक्षाकर्मी परिचालन गरिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले संयुक्त रूपमा स्थिति नियन्त्रणमा लिई बजार क्षेत्रलाई पुनः सामान्य बनाएका थिए। केही समय तनाव रहे पनि हाल अवस्था शान्त रहेको जनाइएको छ।
घटनामा संलग्न रहेको आरोपमा घुस्कीका तीन जनालाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई निर्वाचनपछि फागुन २८ गते उपस्थित हुने सर्तमा हाजिर जमानीमा छाडिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।
निर्वाचनको मुखमा भएको यस प्रकारको घटनाले स्थानीय सुरक्षा चुनौती थपिएको सुरक्षा अधिकारीहरूको भनाइ छ। आगामी दिनमा गस्ती तथा चेकजाँच अझ कडाइका साथ सञ्चालन गरिने र कानून विपरीत गतिविधिमा संलग्न जो–कोहीलाई कारबाही गरिने चेतावनी सुरक्षा निकायले दिएका छन्।