इनरुवा । पछिल्लो समय सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण मुख्यालय सुनसरीले सीमावर्ती क्षेत्रमा कडाइ गर्दै भन्सार छलीका विभिन्न सामान बरामद गर्ने क्रमलाई तीव्र बनाएको छ।
सोही क्रममा विभिन्न मितिमा सञ्चालन गरिएको निगरानी तथा चेकजाँचका क्रममा रु. ३,१८,००६ (तिन लाख अठार हजार छ रुपैयाँ) बराबरका अवैध सामग्री नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरीका अनुसार भारतसँग सिमा जोडिएका सुनसरी जिल्लाका विभिन्न नाकाबाट लुकिछिपी भन्सार छलि नेपाल भित्र्याइएका सामग्रीहरू बरामद गरिएको हो।
नियन्त्रणमा लिइएका सामानहरूमा लत्ताकपडा, कस्मेटिक सामग्री, विभिन्न प्रकारका किराना सामान तथा रजनिगन्धा (सुर्तीजन्य पदार्थ) रहेका छन्।
सीमापार हुने चोरी–तस्करी, अवैध ओसारपसार तथा राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा २४ सै घण्टा निगरानी बढाएको जनाएको छ।
त्यसका लागि नियमित गस्ती, आकस्मिक चेकजाँच, सूचना संकलन तथा समन्वयात्मक कारबाहीलाई थप प्रभावकारी बनाइएको छ। स्थानीय तह, प्रहरी प्रशासन तथा भन्सार कार्यालयसँगको सहकार्यमा यस्ता गतिविधि नियन्त्रण गर्ने अभियानलाई निरन्तरता दिइएको छ।
बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन मिति २०८३ साल वैशाख १४ गते सुनसरी भन्सार कार्यालय, सेतुबन्धमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गणका गणपति सप्रउ श्यामकुमार कार्कीले जानकारी दिनुभयो।
उहाँका अनुसार पछिल्लो समय सीमा क्षेत्रमा भन्सार छली तथा सानाठूला तस्करीका नियन्त्रण गर्न रणनीतिक रूपमा सुरक्षा परिचालन गरिएको छ। “राजस्व चुहावट रोक्नु र सीमालाई सुरक्षित बनाउनु हाम्रो प्राथमिकता हो, त्यसका लागि कडाइका साथ निगरानी गरिरहेका छौं,” उहाँले भन्नुभयो।
सशस्त्र प्रहरी बलले आम नागरिकलाई पनि यस्ता अवैध गतिविधिबारे सूचना दिन आग्रह गर्दै सहकार्य बिना पूर्ण नियन्त्रण सम्भव नभएको उल्लेख गरेको छ। साथै, सीमा क्षेत्रमा हुने अवैध कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी समेत दिएको छ।