तस्विर : फाईल
काठमाडौं । प्रधानमन्त्री बालेन शाह का केही नीतिगत निर्णय र कूटनीतिक व्यवहारका कारण नेपाल–भारत सम्बन्ध थप जटिल बनेको दाबी गरिएको छ ।
भारतीय सञ्चारमाध्यम जी न्यूज ले भारतीय विदेश सचिव विक्रम मिस्री सँग प्रधानमन्त्री शाहले भेट गर्न अस्वीकार गरेपछि दुई देशबीचको सम्बन्धमा थप चिसोपना आएको उल्लेख गरेको छ ।
समाचारअनुसार पदको स्तर नमिलेको कारण देखाउँदै शाहले भेट अस्वीकार गरेका थिए । त्यसपछि मिस्रीको प्रस्तावित नेपाल भ्रमणसमेत स्थगित भएको बताइएको छ ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार चीनतर्फ झुकेको र कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रको सीमा विवादका कारण नेपाल–भारत सम्बन्ध तनावपूर्ण बनेको थियो । शाहले विदेशमन्त्रीभन्दा तल्लो तहका विदेशी अधिकारीसँग भेट गर्न खासै रुचि नदेखाएको दाबी पनि प्रतिवेदनमा गरिएको छ ।
भारतीय विदेश सचिव मिस्रीलाई नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई ले नेपाल सरकारका प्राथमिकताबारे छलफलका लागि निमन्त्रणा दिएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने तयारीसमेत रहेको बताइएको छ ।
गत साता दक्षिण तथा मध्य एसियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत सर्जियो गोर नेपाल आएका बेला उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्ले सँग भेट गरेका थिए । यसअघि पनि शाहले अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर सँग भेट गर्न अस्वीकार गरेको उल्लेख गरिएको छ ।
तनावका बीच पनि भारतले नेपाल सरकारलाई जुलाईमा नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय ठूलो बिरालो गठबन्धन शिखर सम्मेलन मा सहभागी हुन निमन्त्रणा दिएको छ । भारतले जुन १ मा आयोजना गर्ने उक्त सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुन सक्ने चर्चा भए पनि आधिकारिक पुष्टि भने भएको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले सन् २०२३ मा ‘प्रोजेक्ट टाइगर’ को ५० वर्ष पूरा भएको अवसरमा यो अभियानको सुरुवात गरेका थिए । यसले बाघ, सिंह, चितुवा लगायतका वन्यजन्तु संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्यको मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।
यसैबीच भारत र चीनले हालै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने सहमति गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाएको बताइएको छ । कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण धार्मिक तीर्थस्थल मानिन्छ ।