काठमाडौं। भारतको कोलकातास्थित चर्चित सोनागाछी रेडलाइट क्षेत्रबाट दुई नेपाली बालिकाको उद्धार गरिएको छ।
मानव बेचबिखनविरुद्ध काम गर्दै आएको किन इन्डिया संस्थाको पहलमा उनीहरूको उद्धार गरी सुरक्षित रूपमा नेपाल फिर्ता ल्याइएको हो।
उद्धार गरिएका बालिकाहरू नुवाकोट जिल्लाका १४ र १५ वर्षका रहेको संस्थाले जनाएको छ। किन इन्डियाका निर्देशक नविन जोशीका अनुसार बालिकाहरू मानव बेचबिखनमा परेर सोनागाछीको रेडलाइट क्षेत्रमा बन्धकजस्तै अवस्थामा राखिएका थिए।
संस्थाको सक्रिय पहल र भारतीय निकायसँगको समन्वयमा उनीहरूलाई त्यहाँबाट सकुशल उद्धार गरिएको हो।
उद्धारपछि बालिकाहरूलाई नेपाल ल्याई सुरक्षित आवास गृहमा राखिएको निर्देशक जोशीले जानकारी दिए। उनका अनुसार अहिले बालिकाहरूको स्वास्थ्य तथा मनोसामाजिक अवस्थालाई ध्यानमा राखेर आवश्यक परामर्श र संरक्षण प्रदान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै जोशीले बालिकाहरू कसरी बेचबिखनमा परे, यसमा को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए।
अनुसन्धानपछि संलग्न व्यक्तिमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए। मानव बेचबिखन जस्तो जघन्य अपराध न्यूनीकरणका लागि सीमापार निगरानी, जनचेतना आवश्यकरहेको जोसी बताउछन् ।