२७ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

सुझाव सङ्कलनको पहिलो दिनमै सरकारलाई झन्डै ४ हजार सुझाव

Logo
नमो आलाईन प्रकाशित सोमबार, बैशाख २७, २०८३

काठमाडौँ । आगामी नीति, कार्यक्रम तथा बजेटलाई थप जनमुखी, पारदर्शी र सहभागितामूलक बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुझाव सङ्कलन पोर्टल सुरु गरेको छ । नेपाली जनताको आवश्यकता तथा अपेक्षालाई आत्मसात् गर्दै बजेट तथा नीति तर्जुमा प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले शनिबारदेखि यो पोर्टल ल्याइएको हो ।

डिजिटल पोर्टलमा सार्वजनिक भएको एक दिनमै झन्डै ४ हजार सुझावहरू सङ्कलन भइसकेका छन् । यस पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, सम्बन्धित विषयका विज्ञ, नीति विश्लेषक, नीति-निर्माता तथा सरोकारवालाहरूले आफ्ना राय, अवधारणा र सुझावहरू सिधै सरकार समक्ष पेस गर्न सक्नेछन् ।

यसरी प्राप्त महत्त्वपूर्ण सुझावहरूलाई नीतिगत तथा प्रशासनिक तहमा समीक्षा गरी कार्यान्वयन गरिँदै लगिने सरकारको प्रतिबद्धता छ । यस महत्त्वपूर्ण पहलमा सक्रिय सहभागिता जनाउन प्रधानमन्त्री कार्यालयले सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध गरेको छ ।

कसरी दिने सुझाव ?

सबैभन्दा पहिला suggestions.opmcm.gov.np मा गएर अथवा यहाँ क्लिक सुझाव सङ्कलन पोर्टलमा जानुहोस् । अब ‘सुझाव दिनुहोस्’ लेखिएको रातो बटनमा क्लिक गरेपछि सुझावको प्रक्रिया सुरु हुन्छ ।

सुरुमा प्रयोगकर्ताले सुझावका किसिम छान्नुपर्ने हुन्छ, जसमा बजेट विनियोजन सम्बन्धी सुझाव, नीति निर्माण सम्बन्धी सुझाव र बजेट वा योजना माग सम्बन्धी छुट्‍टाछुट्‍टै फारामका लिङ्कहरू राखिएका छन् ।

आफूले दिन चाहेको कुनै एउटा सुझावको किसिम रोजेर विषयहरूलाई क्षेत्रगत हिसाबले छनौट गर्दै अगाडि बढेपछि बल्ल सुझाव दिने मुख्य पेज खुल्छ । त्यसमा प्रदेश, जिल्ला, स्थानीय सरकार र वडा जस्ता विवरण खुलाएर लिखित रूपमा आफ्नो सुझाव दिन सकिने व्यवस्था मिलाइएको छ ।

पोर्टलमा १० एमबी साइजसम्मका पाँच वटासम्म फाइलहरू समेत अपलोड गर्न सकिने सुविधा राखिएको छ । सुझाव खण्ड भरिसकेपछि प्रयोगकर्ताले आफ्नो पहिचान खुलाउने वा गुमनाम (Anonymous) रहेर सुझाव दिने भन्ने विकल्पमध्ये कुनै एउटा रोज्न सक्छन् । यति गरिसकेपछि सुझाव सब्मिट गर्न सकिन्छ ।

सुझावको अवस्था ट्र्याक गर्ने सुविधा

सुझाव सब्मिट गर्ने प्रक्रिया पुरा भएपछि ‘सुझाव प्राप्त भएको र प्राप्त सुझाव व्यक्तिगत रूपमा समीक्षा गरिने’ जानकारीसँगै पोर्टलमा एउटा ट्रयाकिङ टोकन पाउन सकिन्छ । पोर्टलको होम पेजमा राखिएको ‘सुझाव ट्र्याक’ सुविधामा गएर उक्त टोकन राखेपछि आफूले दिएको सुझावको विषयमा हाल के भइरहेको छ भनेर सजिलै जानकारी लिन सकिन्छ ।

ड्याशबोर्डमा लाइभ डेटा: कुन क्षेत्रमा कति सुझाव ?

पोर्टलको होम पेजमै प्राप्त सुझावलाई क्षेत्रगत अवस्था र कुल सङ्ख्याको रूपमा देखिने गरी ड्याशबोर्डको रूपमा राखिएको छ । मे १० को तथ्याङ्क अनुसार १२२८ बजेट र १८७८ नीति गरी कूल ३८१० सुझाव सङ्कलन भइसकेका छन् । प्राप्त सुझावहरूमध्ये सबैभन्दा धेरै पूर्वाधार विकास, अर्थ, उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य, विज्ञान र अन्तर-सरकारी समन्वय सम्बन्धी क्षेत्रका रहेका छन्

error: Content is protected !!