तस्विर : नमो आलाईन
विराटनगर । कोशी प्रदेश सरकारले जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचना तथा सवारीसाधनसम्बन्धी सामग्री लिलाम बिक्री गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत र प्रशासनिक निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री इन्द्रमणि पराजुली ले जानकारी दिए ।
बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जन गरिएको विपद् खोज, उद्धार तथा राहत वितरणसम्बन्धी कार्यविधि–२०८३ स्वीकृत गरेको छ । साथै, प्रदेश बीउबिजन नियमावली–२०८३ लाई पनि अनुमोदन गरिएको छ ।
त्यस्तै, प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली–२०८३ स्वीकृत गर्नुका साथै उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद ऐन, पहिलो संशोधन अध्यादेश–२०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । प्रदेश राजधानी केन्द्रित वृहत विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिसका लागि सिफारिस समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री पराजुलीले बताए ।
यसबाहेक, स्वास्थ्य मन्त्रालयअन्तर्गत चिकित्सकलाई विशेष प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यविधि–२०८२ लाई समेत मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।