तस्विर : नमो अनलाइन
बर्जु । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएको प्रतिबन्धित मुंग्री माछा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरी जिल्लाको बर्जु गाउँपालिका–३ स्थित फारम क्षेत्रमा भारतबाट साइकलमार्फत ल्याइँदै गरेको करिब १ सय केजी प्रतिबन्धित मुंग्री माछा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल, बि. ओ. पी अमडुवाबाट सप्रसनी ईन्द्र बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले प्रतिबन्धित मुंग्री माछा नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएको माछाको अनुमानित मूल्य करिब ३० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाइएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६ः१५ बजे विशेष सूचनाका आधारमा खटिएको टोलीले माछा ल्याउँदै गरेका व्यक्तिहरूलाई रोक्न खोज्दा उनीहरू साइकल छाडेर फरार भएका थिए। त्यसपछि साइकलसहित माछा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको माछा बि.ओ.पी मा ल्याई खाल्डोमा पुरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गणका गणपति सप्रउ श्यामकुमार कार्कीले जानकारी दिनुभयो।
यस अघि नमो अनलाइन डटकममा यस बिषयमा समाचार प्रकाशित भएपछि सिमामा थप कडाई गरिएको बुझिएको छ।