जनकपुरधाम । जनकपुरधाममा आजदेखि जनकपुर साहित्य महोत्सवको सातौं संस्करण सुरु हुँदैछ। विगतका वर्षझैं यस वर्ष पनि महोत्सव जनकपुरधामस्थित महेन्द्र नारायण निधि सभाहलमा विभिन्न कार्यक्रमबीच औपचारिक रूपमा शुभारम्भ हुन लागेको हो।
जेठ १, २ र ३ गतेसम्म सञ्चालन हुने तीनदिने महोत्सवमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ। महोत्सवमा साहित्यप्रेमी, लेखक, बुद्धिजीवी, प्राज्ञ, अनुसन्धानकर्ता, पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
महोत्सव अवधिभर संस्कार, संस्कृति, धरातलीय साहित्य, शिक्षा, खेलकुद, राजनीति तथा परराष्ट्र नीतिलगायत समसामयिक र बहुआयामिक विषयहरूमा विचार-विमर्श, अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिनेछन्।
आयोजकका अनुसार महोत्सवले साहित्य र समाजबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै बौद्धिक बहसको साझा मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ। साथै, नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्नुका साथै स्थानीय पहिचान र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्य पनि रहेको जनाइएको छ।
नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले सम्पूर्ण साहित्यप्रेमी, विद्यार्थी, अनुसन्धानकर्ता तथा आम नागरिकलाई महोत्सवमा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन्।