ब्रहमदेव मेहता/नमो अनलाईन
विराटनगर । बिभिन्न मितिमा रोजगारिको बहाना बनाई भारत पु¥याइएका ६ जना नेपाली बालबालिकालाई उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ।
बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेश, बिराटनगरले सोमबार पत्रकार सम्मेलन गर्दै भारतबाट उद्धार गरिएका बालबालिकालाई सुरक्षित रूपमा नेपाल ल्याई परिवारको जिम्मा लगाइएको जानकारी दिएको हो।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद् मातहतमा रहेको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ का अनुसार कोशी प्रदेशका विभिन्न जिल्लाबाट हराएका बालबालिकाको खोजी कार्यका क्रममा उनीहरू भारतस्थित विभिन्न बालगृहमा फेला परेका थिए।
केन्द्रका अनुसार उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. १, चौदण्डीगढी नगरपालिका वडा नं. ९, विराटनगर महानगरपालिकाका ३ बालिका र १ बालम तथा मधेश प्रदेशका विभिन्न स्थानबाट हराएका २ जना बालकको खोजतलासका लागि अभिभावकले केन्द्रमा निवेदन दिएका थिए।
अभिभावकबाट सूचना प्राप्त भएपछि केन्द्रले नेपाल प्रहरीका जिल्ला कार्यालयहरू तथा भारतस्थित सम्बन्धित निकायहरुसँग समन्वय गरेर खोजी कार्य अघि बढाएको थियो। खोजतलासका क्रममा ती बालबालिका भारतका विभिन्न बालगृहमा रहेको जानकारी प्राप्त भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उद्धार गरिएको जनाइएको छ।
बालबालिका उद्धार कार्यमा भारतस्थित “किन इन्डिया” नामक संस्थाले सहयोग गरेको केन्द्रले जनाएको छ। सोही सहयोगमा २०८३ वैशाख ४ गते बालबालिकालाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको थियो। उद्धार गरिएका बालबालिकामध्ये ४ जना कोशी प्रदेशका र २ जना मधेश प्रदेशका रहेका छन्।
उनीहरूलाई नेपाल प्रहरी प्रदेश कार्यालय विराटनगरको समन्वय तथा सहयोगमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ मार्फत सम्बन्धित परिवारको जिम्मा लगाइएको हो।
बालबालिका बेचबिखन, मानव ओसारपसार तथा विभिन्न प्रलोभनमा पारेर भारत लैजाने घटना बढिरहेका बेला यस्तो उद्धार कार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। सम्बन्धित निकायहरूले बालबालिकाको सुरक्षा, निगरानी र सचेतनामा अभिभावकलाई थप सजग हुन आग्रह गरेका छन्।