०२ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

सिराजको उत्कृष्ट बलिङमा इंग्ल्यान्डमाथि भारतको ऐतिहासिक जित

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, साउन २०, २०८२

तस्विर : नमो अनलाईन

काठमाडौं । लन्डनको ओभल मैदानमा भएको रोमाञ्चक अन्तिम टेस्टमा भारतले घरेलु टोली इंग्ल्यान्डलाई ६ रनले पराजित गर्दै पाँच खेलको सिरिजलाई २-२ को बराबरी गर्न सफल भएको छ।

यो सिरिजमा भातरका तीव्र गतिकाबलर मोहमद सिराज नायक बने। उनले दोस्रो इनिङ्ग्समा महत्वपूर्ण ५ विकेट लिए भने पहिलो इनिङग्समा ४ विकेट हात पारेका थिए।

खेलको अन्तिम दिन इंग्ल्यान्डलाई जितका लागि ३५ रन आवश्यक थियो र उसका ३ विकेट बाँकी थिए। त्यसैले इंग्ल्यान्डलाई जितको प्रमुख दाबेदार मानिएको थियो। बाउन्ड्रिमा क्याच छोडेर छक्का दिएका सिराजले त्यस गल्तीलाई सुधार गरे।

उनले खेल सुरु हुनासाथ आफ्नो उत्कृष्ट बलिङको नमुना पेस गरे। उनले पहिले जेमी स्मिथ र त्यसपछि जेमी ओभरटनलाई आउट गरेर खेल भारतको पक्षमा फर्काए। अर्को छेउबाट प्रसिद्ध कृष्णले पनि एक विकेट लिएपछि इंग्ल्यान्डको ९ विकेट गुम्यो।

त्यसपछि फिल्डिङ गर्दा काँधमा चोट लागेका इंग्ल्यान्डका क्रिस वोक्स एउटा हातमा पट्टी बाँधेर ब्याटिङ गर्न मैदानमा उत्रिए। अर्का ब्याट्सम्यान गस एट्किन्सनले छक्का प्रहार गर्दै र वोक्सले चोटको पीडा सहेरै रन लिँदै खेललाई अन्तिमसम्म प्रतिस्पर्धात्मक बनाए।

जब इंग्ल्यान्डलाई जितका लागि ७ रन मात्र चाहिएको थियो। सिराजले आफ्नो अन्तिम ओभरमा एट्किन्सनलाई एक सटिक योर्कर फाले, जसले उनको स्टम्प ढल्यो। यो विकेटसँगै भारतले टेस्ट क्रिकेटको इतिहासकै सबैभन्दा रोमाञ्चक र अविस्मरणीय जितहरूमध्ये एक हासिल गर्‍यो।

३७४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३६७ रनमा अलआउट भयो। त्यसअघि भारतले दोस्रो इनिङग्समा ३९६ रन जोडेर घरेलु टोलीलाई बलियो लक्ष्य दिएको थियो। पहिलो इनिङग्समा भारतले २२४ रन र इंग्ल्यान्डले २४७ रन बनाएका थिए।