सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.-७ अन्तर्गत मण्डल बस्तीका २०० भन्दा बढी मतदाता चन्दन मण्डलको नेतृत्वमा नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। यसअघि उनीहरू जनमत पार्टी मा आवद्ध रहेका थिए। स्थानीय स्तरमा आयोजित कार्यक्रमबीच मण्डल समुदायका प्रभावशाली नेता चन्दन मण्डलसहित ठूलो संख्यामा स्थानीय बासिन्दाले पार्टी परित्याग गर्दै कांग्रेसमा औपचारिक प्रवेश गरेका हुन्। प्रवेश कार्यक्रमका सहभागीहरूले क्षेत्रीय विकास, समावेशी प्रतिनिधित्व र स्थानीय मुद्दाको सम्बोधनका लागि दल परिवर्तन गरेको बताएका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा यही वडाबाट उम्मेदवार बनेका चन्दन मण्डल दोस्रो स्थान हासिल गर्न सफल भएका थिए। त्यसयता वडास्तरमा उनको सक्रियता र समुदायमा प्रभाव बढ्दै गएको स्थानीयको भनाइ छ। पार्टी प्रवेशसँगै वडाको राजनीतिक समीकरणमा नयाँ परिवर्तन देखिएको छ। कांग्रेस पक्षले यस प्रवेशले आगामी निर्वाचनमा संगठन मजबुत हुने विश्वास व्यक्त गरेको छ भने अन्य दलहरूले पनि यसलाई अर्थपूर्ण राजनीतिक घटनाका रूपमा हेरेका छन्।