तस्विर : फाईल
बिराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर २ का एमाले उम्मेदवार दिलीप बगडिया चुनावको तयारीस्वरूप जनताको घर–घर, टोल–टोल पुग्ने काममा सक्रिय छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार बगडियाले आफ्नो निर्वाचन क्षेत्रमा जनताका आशा–अपेक्षा र गुनासो सुन्नेक्रमलाई निरन्तरता दिइरहेका छन् ।
बगडिया रंगेली नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् । नगरप्रमुखका रूपमा रहँदा उनीसँग रंगेलीबासी प्रत्यक्ष सम्पर्कमा थिए । क्षेत्रबासीका लागि भने उनको अनुहार अपरिचित सरह थियो । यसै कुरालाई मध्येनजर गरेर घरदैलो कार्यक्रममा बगडियाले मतदातासामु आफूलाई चिनाउने गरेका छन् ।
तर, अनुहार पहिलोपटक देखेका मतदाताले पनि उनलाई नाम र कामले पहिल्याउँछन् । उनीहरू रंगेलीलाई कायापलट गर्न सफल भएका बगडियासँग समग्र क्षेत्रको विकासमा यसरी लाग्न भन्दै सुझाव दिन्छन् । बाटो, पुल–पुलेसो देखाउँदै उनीहरूले बगडियाको जित सुनिश्चित भएको र संघीय सांसदका लागि विजयी भएमा विकासको मूल फुटाइदिन अनुरोध गर्छन् ।
करिब आठ वर्षजति नगरपालिकाको नेतृत्व गर्दा मोरङको पुरानो सदरमुकामको साख पुरानै लयमा फर्काउने उनको प्रयासले सार्थकता पाएको थियो । नगर फेर्न सफल बनेका बगडिया अहिले उक्त जिम्मेवारी नगरउपप्रमुखलाई सुम्पिँदै निर्वाचन क्षेत्रकै मुहार फेर्न तम्सिएका छन् ।