काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तिब्र पार्दै जनताको घरदैलोमा पुग्नुभएको छ ।
आसन्न निर्वाचनको पूर्वसन्ध्यामा ओलीले दमक लगायतका विभिन्न क्षेत्रमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्नुभयो । घरदैलो कार्यक्रममा अध्यक्ष ओलीलाई स्वागत गर्न स्थानीय मतदाताहरूको ठूलो उपस्थिति रहेको थियो । घरदैलोका क्रममा ओलीले युवाहरूसँग देशको भविष्य र विकासका बारेमा संक्षिप्त छलफल गर्नुभयो ।
विशेष गरी दमक नगरपालिकाका विभिन्न वडाहरूमा पुग्दा स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्वासी समस्या समाधानका लागि ओलीसँग आग्रह गरेका थिए । जवाफमा ओलीले आफू प्रधानमन्त्री हुँदा शुरु गरेका अधुरा आयोजनाहरूलाई पूर्णता दिन र झापा ५ लाई नमूना क्षेत्र बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
ओलीको यो घरदैलो कार्यक्रमले झापा ५ मा चुनावी सरगर्मीलाई ह्वात्तै बढाएको छ । विपक्षी दलहरूले पनि आफ्नो अभियान चलाइरहेका बेला ओलीको यो ‘मास मुभमेण्ट’ ले एमालेको पकडलाई अझ बलियो बनाएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।