१७ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

निर्माण व्यवसायीको काम ठप्प : विराटनगरका १८ योजना अलपत्र

Logo
नमो आलाईन प्रकाशित शुक्रबार, बैशाख १७, २०८३

तस्विर : फाईल

विराटनगर। विराटनगर महानगरपालिका–३ मा अटिजम भएका बालबालिकाको दैनिक सिकाईका लागि स्थापना भएको अनमोल स्पेसल एजुकेशन सेन्टर छ । आयलनिगम पूर्वतर्फ कोशी राजमार्गदेखि सेन्टरको दुरी ५० मिटरमा पर्दछ । यो सडकलाई विराटनगर महानगरपालिकाले स्तरोन्नती गर्ने गरी बजेट व्यवस्थापन गरेको थियो । तर, सडकको सेवाक्षेत्र भित्र पर्ने कुनै एकजना उपभोक्ताले झिकेको विवादका कारण बजेट कार्यन्वयनमा लैजान सकेन ।

बजेट कार्यन्वयनमा लैजान नसकेपनि विशेष प्रकारको समस्या भएका बालबालिका दैनिक आउजाउ गर्ने सडकको अवस्था दयनीय छ । तर, महानगरपालिकाले चाहँदा पनि त्यहाँ एक टिपर मिक्स गिट्टी झार्ने स्थिति अहिले छैन । इन्धनमा भएको मूल्यबृद्धिले एकहजार ३१८ घनमिटरको खोलाजन्य सामाग्रीको मूल्य दुई हजार पुगेको छ । अतिआवश्यक परेको स्थानका लागि माग्दा समेत व्यवसायीले हात जोड्छन् अनि भन्छन्–घाटा खाएर काम गर्ने स्थितिमा अहिले हामी छैनौं । इन्धनमा बढेको मूल्यले अहिले निर्माण क्षेत्र यति सारो चौपट्ट बनिसक्यो, निर्माण व्यवसायीले कुनैपनि काम गरिरहेका छैनन् ।

महानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापाका अनुसार उपभोक्ता समितिले जिम्मा लिएका काम समेत फिर्ता गरिरहेका छन् । बाँकी कुनैपनि काम गर्नसक्ने अवस्थामा व्यवसायी देखिएका छैनन । पछिल्लो समय केहि योजनाको ठेक्का व्यवस्थापनका लागि खोलेको बोलपत्रमा कसैले पनि आवेदन नदिएको थापाको भनाई छ ।
साना, मझौला, कोटेसन वा उपभोक्ता समितिका मात्रै नभई विराटनगर महानगरपालिकाका बहुवर्षीय योजना समेत अलपत्र परेको थापाको भनाई । अहिले १८ वटा बहुवर्षे विकास योजनाको काम रोकिएको छ । निर्माण सामग्रीको मूल्यवृद्धि भएको भन्दै कोशी प्रदेशका निर्माण व्यवसायीहरूले पत्रकार सम्मेलनमार्फत काम ठप्प गर्ने घोषणा गरेपछि अधिकांश योजनाको काम रोकिएको हो।
हाल सञ्चालनमा रहेका २० योजनामध्ये २ वटा सम्पन्न भइसकेका छन् भने बाँकी १८ योजनाको काम प्रभावित बनेको छ। “केही योजना अन्तिम चरणमा छन्, केहीको म्याद थप्नुपर्ने अवस्था आएको छ,” थापाले बताए।

सम्पन्न भएका योजनामा वडा नं. २ र ७ को सिमानास्थित घोघाहमा प्रशासनिक भवन निर्माण तथा वडा नं. १३ मा विराटनगर आँखा अस्पताल अगाडिको सडकमा नाला, स्ल्याब, पिच र कंक्रिट कर्ब निर्माण कार्य रहेका छन्। हाल अलपत्र परेका योजनामा विभिन्न वडामा पार्क निर्माण, सडक पिच, नाला, कर्भट, प्रशासनिक भवन निर्माणलगायतका कामहरू समावेश छन्। वडा नं. १ को हुदयेन्द्र बाल उद्यान पार्क, वडा नं. १४ को मन्ठा पोखरी र रानीमाई पोखरी ग्रीन पार्क, वडा नं. ७ स्थित महानगरको प्रशासनिक भवन, वडा नं. ३ मा डुबान नियन्त्रणका लागि विभिन्न मार्गमा आरसीसी नाला तथा पिच निर्माणजस्ता महत्वपूर्ण आयोजना प्रभावित भएका छन्।

यस्तै, वडा नं. ५ मा बहुप्राविधिक शिक्षालय भवन, वडा नं. १२, ४ र ११ मा सडक स्तरोन्नति, वडा नं. ५ र ६ सिमानामा नाला तथा बक्स कल्भर्ट निर्माण, वडा नं. ८, ७ लगायतका क्षेत्रमा सडक तथा पूर्वाधार निर्माणका कामहरू पनि रोकिएका छन्। निर्माण व्यवसायीहरूको आन्दोलनका कारण विकास निर्माणका काम ठप्प हुँदा स्थानीयवासीले दैनिक जीवनमा समस्या भोग्नुपरेको छ। महानगरले समस्या समाधानका लागि पहल गरिरहेको जनाए पनि तत्काल काम सुचारु हुने अवस्था भने अन्योलमै देखिएको छ।

महानगरपालिका उपप्रमुख शिल्ला निराला कार्कीले सम्झौता गरेर काम गर्दाको अवस्था भन्दा अहिले अचानक मूल्यबृद्धि भएकोले त्यसको मारमा निर्माण व्यवसायी परेको गुनासो आइरहेको बताइन् । उनले मूल्य समायोजन वार्षिक रुपमा मात्रै हुने गरेकोले अहिलेको मूल्यबृद्धिमा व्यवसायी काम गर्न तयार नै नदेखिएको बताइन् ।

error: Content is protected !!