झापा । रातोपाटीकर्मी पत्रकार अर्जुनकुमार आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने नेकपा एमाले निकट ‘भोलेन्टियर्स फोर्स’का सदस्य विरुद्ध किटानी जाहेरी दर्ता भएको छ । घाइते पत्रकार आचार्यले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गराएका हुन् ।
आचार्यमाथि बिहीबार कमल गाउँपालिकाको जीवन चोकमा साँझ ५ बजे आक्रमण भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलो अभियान भइरहेका बेला केही महिलाहरूले घण्टीमा भोट हाल्ने बताएपछि एमाले कार्यकर्ताहरूले उनीहरूमाथि अश्लील गालीगलौज गरेका थिए । सोही घटनाको भिडियो खिचिरहेका आचार्यलाई एमाले निकट भोलेन्टियर्स फोर्सको समूहले मुक्का र बुट प्रहार गर्दै निर्घात कुटपिट गरेको थियो । आचार्यले दर्ता गरेको जाहेरीमा कमल गाउँपालिका–६ का युवराज पाठकसहित पाँच जनाको समूहलाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । जाहेरीमा अभद्र व्यवहार (मुलुकी अपराध संहिता बमोजिम) सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाउन माग गरिएको छ । साथै, लुटिएको मोबाइल फोन, चस्मा फिर्ता गर्न, शारीरिक तथा मानसिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र उपचार खर्च भराउन समेत माग गरिएको छ ।
घटनाका बेला एमाले अध्यक्ष ओली केही मिटरकै दुरीमा रहे पनि आफ्नै कार्यकर्ताले पत्रकारमाथि आक्रमण गर्दा उनले कुनै चासो नदेखाएको पीडितको गुनासो छ । आक्रमणपछि बागमती अञ्चलमा दर्ता भएको २५६१ नम्बरको सेता स्करर्पियोमा आचार्यलाई अपहरण गर्ने उद्देश्यले चढाउन खोजिएको र दमक पुगेर थप देखाइदिने धम्की दिइएको समेत जाहेरीमा उल्लेख छ । आचार्यको अनुहार, ढाड, कोखा र टाउकोमा चोट लागेको छ । यद्यपि उनको उपचार पछि अवस्था सामान्य छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले किटानी गरिएका व्यक्तिहरूको पहिचान भइसकेको र खोजी जारी रहेको बताए । उक्त घटनाको पत्रकार महासङ्घ, फ्रिडम फोरम र विभिन्न सञ्चार सम्बद्ध संस्थाहरूले प्रेस स्वतन्त्रताको रक्षा र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् ।