०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

कति छापिए ड्राइभिङ लाइसेन्स ?

Logo
Namo Online प्रकाशित बुधबार, बैशाख ०१, २०८३

तस्विर : फाईल

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ प्रक्रियाको प्रगति विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गर्न सुरु गरेको छ । पारदर्शीताका लागि केन्द्रले हालसम्म छापिएका लाइसेन्सको डेटावेबसाइटमा अपडेट गर्न थालेको हो ।

मुद्रण केन्द्रको पछिल्लो विवरण अनुसार हालसम्म तीन लाख ५४ हजार १७४ ओटा लाइसेन्स छापिएका छन् । यातायात व्यवस्था विभागसँग भएको १२ लाख थान लाइसेन्स छपाइको सम्झौतामध्ये ८ लाख ४५ हजार ८२६ ओटा कार्ड छाप्न बाँकी रहेको देखिएको छ ।

उपलब्ध तथ्याङ्क अनुसार इमर्जेन्सीतर्फ ३४ हजार २६६ थान लाइसेन्स छापिएका छन् भने ९४० ओटा प्रक्रियामा छन् । यस्तै, पुरानो बाँकी (ब्याकलग) तर्फ हालसम्म ३ लाख १९ हजार ९०८ ओटा लाइसेन्स छापिएका छन् भने एक लाख ७५ हजार ५९८ ओटा छपाइको प्रक्रियामा रहेका छन् ।

केन्द्रका कम्प्युटर इन्जिनियर विशाल कटुवालका अनुसार चैत २६ गते (बिहिबार) देखि वेबसाइटमा विवरण राख्न सुरु गरिएको हो । “हामीले कति काम भयो भन्ने जानकारी दिन विवरण अपडेट थालेका हौँ,” उनले भने, “वेबसाइटको पूर्ण पहुँच नभएका कारण रियल-टाइम डेटा दिन नसके पनि विभागलाई कार्ड बुझाए लगत्तै विवरण सार्वजनिक गर्ने गरेका छौँ ।”

हाल वेबसाइटमा रहेको विवरण २७ चैत (शुक्रबार) सम्मको रहेको उनले जानकारी दिए । शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबार करिब ४० हजार थान लाइसेन्स छापेर विभागलाई बुझाइएको उनले जानकारी दिए । आज (बुधबार) पनि थप कार्ड बुझाउने र त्यसपछि वेबसाइटमा डेटा अपडेट गरिने इन्जिनियर कटुवालले जानकारी दिए ।

१२ कात्तिक २०८२ मा ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने गरी केन्द्र र विभागबिच सम्झौता भएको थियो । उक्त सम्झौताको म्याद  १२ वैशाखमा सकिँदै छ । तोकिएको समयसीमा भित्रै सम्पूर्ण लाइसेन्स छापी सक्ने गरी तीव्र गतिमा काम भइरहेको कम्प्युटर इन्जिनियर कटुवालले सुनाए ।

error: Content is protected !!