चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न नसकेको हो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ । उनका अनुसार जिल्लामा दैनिक एकसय १५० युनिट सम्म रगतको माग हुने गर्दछ ।
यस वर्षको फागुनसम्ममा १६९ स्थानमा भएका रक्तदान कार्यक्रममा ११ हजार ५३२ युनिट र केन्द्रमा आएर दिएको सङ्ख्या तीन हजार १८१ छ । अघिल्लो वर्ष २८७ स्थानमा भएका रक्तदानमा १८ हजार ५७७ युनिट र केन्द्रमा चार हजार ६४० युनिट रगत सङ्कलन भएको थियो । त्यसअघिको वर्षमा २९८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट १८ हजार ४०९ युनिट र केन्द्रमा छ हजार ९२० युनिट रगत सङ्कलन भएको थियो ।
यसलाई हेर्दा केन्द्रमा आएर रक्तदान गर्नेहरूको सङ्ख्या घट्दो छ । गत वर्ष यहाँ ब्लड डोनर्स सोसाइटीले रक्तदान महोत्सव नै आयोजना गरी एक हजार ७१७ युनिट रगत सङ्कलन भएको थियो । प्रमुख पौडेलले देशैभरबाट बिरामी यहाँ आउने भएकाले रगतको माग बर्सेनि बढेको बताए ।
रक्तदान गर्ने युवा जनशक्ति विदेश गएको, उमेर बढ्दै गएपछि उच्च रक्तचाप, मधुमेहजस्ता रोगका कारण रक्तदान गर्न नमिल्ने भएका कारण दाता घटेको उनको भनाइ छ । उनले भने, ‘दाता घट्ने र माग बढ्ने हुँदा सन्तुलन मिलाउन कठिन हुने गरेको छ ।’ यहाँ माग उच्च हुँदा छिमेकी जिल्लाहरूबाट समेत रगत ल्याउने गरिन्छ ।
केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेल छिमेकी १४ भन्दा बढी जिल्लाबाट सङ्कलन गरेर रगत ल्याउँदासमेत पुर्याउन नसकिएको बताउँछन् । यहाँ रहेका क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, सरकार भरतपुर अस्पताल र निजी अस्पतालमा आउने घाइते र बिरामीहरूका लागि रगतको माग बढ्दा सन्तुलन मिलाउन नसकिएको उनले बताए । राजधानी काठमाडौंपछि धेरै रगत चितवनमा चाहिने भन्दै उनले सबैको साथ र सहयोगबाट मात्रै रगतको पूर्ति गर्न सकिने बताए ।
देशभर रक्तदानमा उत्प्रेरणा गर्दै आएको ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारी रेडक्रस सोसाइटीले सञ्चालन गरेका केन्द्रहरूले व्यवस्थापकीय रुपमा सुधार गर्नसकेमा रक्त सङ्कलन बढ्ने बताउँछन् । केन्द्रले आम रक्तदाता र सङ्घ संस्थाहरूसँग समन्वयकारी भूमिका निर्वाह गरेर काम गर्नुपर्ने उनको सुझाव छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशैभरिबाट बिरामी आउने गर्दछन् । सबैभन्दा बढी रगत क्यान्सर उपचारमा खपत हुने गर्दछ । यस्तै चितवन मेडिकल कलेजले क्यान्सर इन्स्टिच्युट सञ्चालन गरेको छ । जहाँ रगतको माग उच्च हुने गर्दछ ।
भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारी रक्तदाताहरूलाई उत्प्रेरित गर्नुपर्ने बताउँछन् । विद्यालय र क्याम्पसका पाठ्यक्रमहरूमा रक्तदानको महत्त्वको बारेमा जानकारी गराउनुपर्ने भन्दै उनले रक्तदान गर्नेहरूलाई राज्यका तर्फबाट केही सहुलियत हुनुपर्ने बताए ।