ब्रहमदेव मेहता/नमो अनलाईन
विराटनगर । परिवर्तन रातारात हुँदैन, तर सही दृष्टिकोण र इमानदार प्रयास भयो भने एक वर्षको छोटो अवधि पनि एउटा ठूलो फड्को मार्न पर्याप्त हुन्छ। मोरङको कटहरी गाउँपालिका–२ हल्दिबारीमा अवस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनले आफ्नो स्थापनाको पहिलो वर्षमै स्वास्थ्य सेवाको क्षेत्रमा यस्तै एउटा आशालाग्दो उदाहरण प्रस्तुत गरेको छ।

आइतबार जीवन विकास समाजको सभाहलमा एक भव्य समाहरोह बीच अस्पतालले आफ्नो प्रथम वार्षिकोत्सव धुमधामका साथ मनाएको छ। यो केवल एउटा उत्सव मात्र थिएन, बरु विगत ३६५ दिनमा बुनिएका सपना र प्राप्त भएका उपलब्धिहरूको सुखद समीक्षा पनि थियो।
सुरुवाती दिनहरू चुनौतीपूर्ण रहे पनि अस्पतालले छोटो समयमै स्थानीय नागरिकको मन जित्न सफल भएको छ। बितेको एक वर्षभित्र मात्रै ८ हजार ५ सय ३७ जना बिरामीहरूले यस अस्पतालबाट प्रत्यक्ष उपचार सेवा लिएका छन्। ग्रामिण र अर्ध–शहरी क्षेत्रका नागरिकका लागि यो अस्पताल स्वास्थ्योपचारको एउटा बलियो खम्बा बनेर उभिएको छ।

अस्पतालले आफ्नो पहिलो वर्षमै एउटा ठूलो इतिहास रचेको छ। नेपालमा सम्भवतः पहिलो पटक, स्थापना भएको एक वर्ष पनि नपुग्दै अस्पतालले अत्याधुनिक एमआरआई र सिटी स्क्यान मेसिनहरू जडान गरी सेवा सुरु गरिसकेको छ। आधुनिक प्रविधिको यो उपलब्धताले अब बिरामीहरूले गुणस्तरीय निदानका लागि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ।

“हामी यतिमै रोकिने छैनौँ,“ वार्षिकोत्सवका अवसरमा अस्पतालका निर्देशक तेजस्वी मण्डलले आगामी योजना सुनाउँदै भने, “चाँडै नै मुटुरोगीहरूको उपचारका लागि अत्याधुनिक क्याथ ल्याब स्थापना गर्ने तयारी भइरहेको छ, भने आँखा उपचार सेवा पनि छिट्टै सुरु गर्दैछौँ।“
अस्पतालले आफ्नो सेवालाई अझ चुस्त र विशिष्ट बनाउन चिकित्सक टोलीमा नयाँ र दक्ष अनुहारहरूलाई भित्र्याएको छ। वार्षिकोत्सवको विशेष अवसर पारेर अस्पतालको सहायक मेडिकल डाइरेक्टरमा डा. अभिनव श्रेष्ठ र हाडजोर्नी विभागको प्रमुखमा डा. अमरेन्द्र यादवलाई नियुक्त गरिएको छ।

अस्पताललाई भविष्यमा केवल एउटा सामान्य उपचार केन्द्र मात्र नभई ’विश्वस्तरीय स्वास्थ्य संस्था’ बनाउने ठूलो सपना बुनिएको छ। जीवन विकास समाजका संस्थापक अध्यक्ष एवं पूर्व सांसद योगेन्द्र मण्डलले पूर्वाधार विकासको काम तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै भने, “अस्पताललाई विश्वस्तरीय उपचार सेवा प्रदान गर्ने केन्द्रका रूपमा विकास गर्ने हाम्रो उद्देश्य हो, र यस महाअभियानमा हामीलाई सम्पूर्ण अस्पतालका कार्यरत कर्मचारी र सरोकारवालाहरूको साथ र सहयोगको खाँचो छ।“
यस्तै, कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जीवन विकासले सुरु गरेका हरेक संस्था र संरचनालाई सबैको सामूहिक पहलमा अझ मजबुत र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

जीवन विकास समाजकी अध्यक्ष रिबोलदेवी मण्डलको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको बाक्लो उपस्थिति थियो। पहिलो वर्षको यो सुखद सुरुवातले जीवन विकास सामुदायिक अस्पतालले आगामी दिनमा पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा एउटा कोशेढुङ्गा सावित गर्ने स्पष्ट संकेत देखाएको छ।
उत्त कार्यक्रमको अवसरमा जीवन विकास समाजलाई सुरुवाती दिन देखी साथ सहयोग र आफनो अमुल्य समय समरपण गर्ने व्यतित्वहरुलाई सम्झिदै सम्मान समेत गरिएको थियो ।