२४ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

सर्वदलीय बैठकमा एमालेको प्रश्न- ‘प्रधानमन्त्रीको अभिव्यक्ति र सभापति लामिछानेको भारत भ्रमणबीच ट्युनिङ थियो ?’

Logo
विराटनगर न्यूज डेस्क प्रकाशित सोमबार, जेठ २४, २०८३

काठमाडौँ — एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री स्वयं संसद्‌मा आएर स्पष्ट पार्नुपर्ने अडान सर्वदलीय बैठकमा राखेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बोलाइएको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै महरले आफूहरुले सदनमा विरोध जारी राख्ने बताए ।

१७ गते प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भनेर अभिव्यक्ति दिने, १८ गते रास्वपा सभापति भारत जानुमा कुनै ट्युनिङ थियो कि थिएन भनेर बैठकमा कुरा राखेको उनले बताए । ईपीजीको विषयमा छलफल भयो भएन भनेर पनि आफूहरुले सोधेको उनले बताए ।

‘भारतले हालै पनि सीमा मिचिरहेको छ । सुस्तामा एसएसबीले तटबन्ध रोकेको छ । यसबारेमा छलफल भयो कि भएन भनेर सभापति लामिछानेलाई सोध्यौं, तर स्पष्ट जवाफ आएन,’ उनले भने ।

सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएकाले त्यसलाई स्पष्ट पार्न प्रधानमन्त्री नै संसद्‌मा आउनुपर्ने आफूहरुले अडान रहिरहेको उनको भनाइ थियो । ‘हामी संसद्को गतिरोध अन्त्य गर्न चाहन्छौं तर त्यसका लागि वातावरण बनाउन बैठकमा विपक्षी दलहरुले आग्रह गर्‍यौं,’ उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति देशसँग जोडिएको विषय हो । यो रेकर्ड संसद्बाट मेटाउनुपर्छ भनेपछि सभापति लामिछानेेले पहिलो दलमा छलफल गर्ने र सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिनेबारे जानकारी गराउनुभयो । प्रधानमन्त्रीसँग पनि यस विषयमा छलफल गर्ने भन्नुभएको छ ।’

error: Content is protected !!