काठमाडौँ । सांसद पदम परियारले नागढुङ्गा सुरुङ मार्गको लागत र ऋण भुक्तानी योजनाबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसद परियारले आयोजनाको सुरुको लागत अनुमान र अहिलेको वास्तविक खर्चको विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
‘यो सफ्ट लोनमा बनाइएको प्रोजेक्ट हो । पोखरा र लुम्बिनी विमानस्थल जस्तै यो पनि ऋणको भारमा पर्ने त होइन ?’ परियारले प्रश्न गरे । उनले वार्षिक ३५ करोड आम्दानी हुने अनुमान गरिएकोमा २२ करोड सञ्चालनमै खर्च हुने भएपछि बाँकी १३ करोड बचतले अर्बौँको ऋण कति वर्षमा तिरिसकिन्छ भन्दै प्रश्न गरे ।
यसैगरी, उनले सुरुङ मार्गको लम्बाइ छोटो भएकोमा पनि प्राविधिक कारण सोधेका छन् । ‘यो सुरुङ अलि तल सिस्नेखोलासम्म ल्याएको भए धेरै घुम्तीहरू काट्न सकिन्थ्यो, किन यति छोटो बनाइयो ?’ उनको जिज्ञासा थियो ।
परियारले निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिँदा मन्त्रालयले त्यसको रेखदेख र सुपरिवेक्षण कसरी गर्छ भन्नेबारे पनि स्पष्ट पार्न माग गरे ।