२३ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
×

देशकै धेरै पानी पर्ने गाउँ पुग्दा रसाए मेरा आँखा

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, साउन २०, २०८२

तस्विर : नमो अनलाईन

देशकै धेरै पानी पर्ने पाखोमुनि उभिनासाथ मेरा आँखा आफै रसाए।

कतै पनि किसान निर्धक्क धान रोप्न नपाएर, कतै रोपो सुकाएर, आँसु लुकाएर आकाश कहिले बदलिएला भनेर सोचमग्न बनिरहेका बेला म साथीहरूसँग कास्कीको अन्नपूर्ण गाउँपालिका पुगेको थिएँ।

पश्चिम–दक्षिण फर्किएको पहाडमुन्तिर कान्ला कान्लाबाट पानी मस्त बैंसले मत्त भएझैं छङछङ गर्दै बगिरहेको थियो। धानले गाँज हालेर रोपेको हलक्क हरियो भइसकेको थियो।

मेरा सहयात्रीको तल सुरम्य पोखरा, मियापाटनस्थित खेतको धाँजा फाटेको त्यही बिहानमै मैले देखेको थिएँ। उनीहरूले भल छोप्न भ्याउने गरी झरी नपर्दा मोटरपम्पबाट पानी तानेर जेनतेन रोपेका थिए, खेत चिरा पर्न थालिहाल्यो।

मेरो त झन् रोपाइँ नै भएको थिएन। हाम्रो तनहुँतिर मूल फुटेकै थिएन। साउन दोस्रो साता लागिसकेको थियो र हामी पोखराबाट एक घण्टा उत्तर गुडेर त्यो तरेली गह्रा भएको गाउँ पुगेका थियौं, जहाँ पानीको कुलकुलको ताल र सुर सुन्ने मस्तिष्क होइन, मुटुमा बस्ने किसिमको थियो।

तीन दशकपछि धेरै वर्षा हुने भन्दै मौसमवेत्ताहरूले देशभरिका किसानलाई आशावादी बनाएका थिए, तर यही मनसुन सबभन्दा सुख्खा सावित भयो।

मधेसमा त सिँचाइको के, खानेपानीकै संकट आइपरेर सरकारले आपतकाल घोषणा गर्नुपर्‍यो। पहाडमै पनि वर्षभरिको मुख्य बाली ठानिएको खेती अनिश्चित भएको बेला हाम्रो मराम्चे यात्रा काकताली नै थियो।

सबभन्दा धेरै पानी पर्ने लुम्ले क्षेत्रमाथिको मराम्चे डाँडो देखाउँदै स्थानीय कृष्णप्रसाद अधिकारीले आफ्नो गाउँको गौरव सुनाए।

गाउँमा रासायनिक मल, विषादी र हाइब्रिड बीउको प्रवेश गर्न लागेकै बेला गाउँलेहरूले त्यो ‘विकासे कृषि’ ले बाहिरतिर मानिस र माटोको स्वास्थ्य बिगार्न थालेको सुने। छलफल गरे।

दिगो खेतीका लागि ‘प्रकृतिसँग संघर्ष होइन, सहकार्य’ को धारणा लिए। प्रगतिशील नामको सहकारी स्थापना गरे। ली–बर्ड (स्थानीय जैविक विविधता अनुसन्धान तथा विकास संस्था) को परामर्शमा रैथाने बीउ जोगाउने सामुदायिक अभ्यास थाले। दूध र तरकारीको बजार देखेपछि घरघरै पशुपालन र तरकारी खेती सुरू गरे। जैविक मल प्रयोग गरेपछि गाउँलाई ‘पर्यावरणीय’ बनाउन टेवा पुग्यो।

‘प्लास्टिकका टनेलले भने हामीलाई खिसी गरिरहेको छ,’ अधिकारीले हाँस्दै भने।

गाउँका तन्नेरीहरू पनि डोको बोकेर घाँस ओसार्न निस्केको आजकल अरू गाउँमा देख्न मुस्किल छ। यहाँ नगदे आम्दानीको सम्भावना भएकाले वैदेशिक रोजगारीको छालले खासै छोएनछ।

देशका सबै गाउँ यस्तै रसिला त नहुन सक्छन्, तर भरिला बन्न सक्लान् कि सक्दैनन् भन्नेबारे छलफल गर्न सकिन्छ। मराम्चेमा पनि हिउँदमा पानीको अभाव हुन्छ भन्ने पत्यार नलाग्न सक्छ। त्यसैले पानीको विषय व्यवस्थापनसँग जोडिएको हो।

४२ घरधुरी भएको हरियाली गाउँ डुलाउँदा अधिकारीले पानीको जतन कसरी गर्ने भन्ने छलफल चलिरहेको सुनाए। पोखरी बनाउनुपर्ने रहेछ भन्ने अन्यत्रका उदाहरणहरू देखे। एउटा कान्लादेखि अर्को कान्ला हिँड्दा उनले सिमेन्टले लिपिएको माटो र बालुवाको खोबिल्टो देखाए। त्यस्तै अरू संरचना बनाउने तयारी रहेछ।

देशको अवस्था हेर्ने हो भने मराम्चेको माथिल्लो सामुदायिक वनसँग गाउँको सम्बन्ध गाँसिएको छ, तर मधेसमा चुरेसँग सम्बन्ध लगभग विच्छेदजस्तै छ।

पानी भनेको केबल वर्षामा झर्ने होइन — जोगाउने, जतन गर्ने, जगेर्ना गर्ने, पुनर्भरण गर्ने कुरा हो। सिमेन्टको पोखरीमा पानी जम्मा गर्नु जतन हो, तर त्यो पुनर्भरण होइन।

पानीको सही जगेर्ना भनेको पानी ‘उमार्ने’ हो। प्रकृतिसम्मत खेतीले पानी जतन मात्र होइन, पुनः उत्पादनतर्फ प्रेरित गर्छ। खेतबारीको चिस्यान कायम राख्छ।

बर्सेनि पानीको मात्रा घट्दै गएको मात्र होइन, अनिश्चितता पनि बढ्दै गएको छ। कृषि प्रणाली सबभन्दा प्रभावित भएको छ। रासायनिक मलको अत्यधिक प्रयोगले माटोको पानी सोस्ने क्षमता घटेको छ भने माटो अझै तिर्खाएको छ। किसान एकल बालीमा निर्भर हुन थालेकाले उनीहरूको जीविका समेत जोखिममा परेको छ। धान भएन भने वर्षभरि कसरी चलाउने?

जलवायु परिवर्तनसँगै किसानले आफ्नो माटोबारे आफै सोच्नुपर्ने भएको छ। सरकारको सोचाइ उल्टै किसानलाई संकटमा पार्ने खालको देखिन्छ।

अस्ति भर्खरको उदाहरण छ — प्रधानमन्त्रीले जलवायुबारे सगरमाथा संवाद आयोजना गरे, जहाँ नेपालजस्ता देशहरू मारमा परिरहेका छन् भनेर वकालत गरिँदै थियो।

तर त्यही साता लगानी बोर्डको बैठकमा रासायनिक मल कारखाना स्थापनाको निर्णय गरे।

सरकारका काममा विरोधाभास स्पष्ट छ। चुरे संरक्षणमा बाधा दिन्छ, पानी पुनर्भरणलाई प्राथमिकतामा राख्दैन, प्रकृति दोहन गर्ने परियोजनामा रमाउँछ, सुख्खा क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्न आतुर देखिन्छ।

सरकारका आँखाबाट त गोहीको आँसु झर्छन्। ‘दिगो कृषि’ भनेका शब्दहरू भाषणमा हुन्छन्— नीति, कार्यक्रम र लगानी भने माटोको दोहन र शोषणमै केन्द्रित छन्!

किसानहरूले आफै दीर्घकालीन सोचका साथ पानीको प्रश्नको सही उत्तर खोज्ने प्रयास गर्नुपर्छ।

जलवायु संकट हाम्रो वास्तविकता बनिसकेको छ। मूलधारको कृषि संकटमा परिसकेको छ। यो खडेरी मात्र होइन, आउने वर्षहरूको चेतावनी पनि हो।

त्यसैले अब हाम्रो माटोमा कम पानीमै उत्पादन हुने बाली के हुन्, पानीको सबभन्दा प्राकृतिक जोहो के हो — त्योबारे समझदारी अनिवार्य भइसकेको छ।

माटो चिन्ने किसानले नै यसको उत्तर दिन सक्छ। र माटो त आफ्नै पारिस्थितिक प्रणालीमा निर्भर हुन्छ।

मैले मराम्चेका अधिकारीसँग भटमासको बीउ माग्दा डाइलग खाएँ।

उनले मादले काँक्रो र भट्टको रैथाने बीउ आफ्नो समुदायले बेच्ने गरेको सुनाएका थिए, मैले दुवै बीउका लागि हात थापेँ।

‘मादले काँक्रो तपाईंको ठाउँमा हुन्न, हामी दिन्नौं,’ उनले भने।

‘भटमास त?’

‘अर्को वर्ष लिन आउनू।’

‘अहिले छर्ने सोचमा छु,’ मैले भनेँ।

‘यस वर्ष ढिलो भइसक्यो,’ उनले भने।

‘धान रोप्दा छर्ने होइन र?’

‘हो।’

‘त्यही भएर त लैजान खोजेको।’

‘अहिलेसम्म रोपाइँ भएको छैन?’ उनले अचम्मित हुँदै सोधे।

‘हाम्रो त साउने खेत हो,’ मैले भनेँ, ‘उसमाथि यसपालि सुख्खा।’

देशकै धेरै पानी पर्ने क्षेत्रका किसानले त्यसरी सोध्नु के अचम्म?

बीउको पोको बोकेर बेलुकी दमौली आइपुगेँ।

गाउँ जाने गाडीमा हाम्रो उपत्यकाको पूर्वी कुना—मूलपानीका एक किसान साथी भए। उनले मूल नफुटेको मात्र नभई, यो वर्ष आफ्नो जीवनकै खडेरी परेको बताए।

‘हो र?’ मैले सोधेँ।

‘२०२६/२७ सालपछि अहिल्यै हो,’ उनले ठोकुवा गरे।

‘त्यतिखेर मान्छे भोकै परेका थिए?’

‘त्यतिखेर कपास खेती हुन्थ्यो,’ उनले भने, ‘मान्छेले बढी भात खान थालेपछि खेत बनाए, आकाशमा पानी पार्ने मेसिन हालेनन्!’

error: Content is protected !!