तस्विर : नमो अनलाइन
इनरुवा। आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू चुनावी प्रचार–प्रसारमा तीव्र रूपमा जुटेका छन्।
दलहरूले आफ्ना एजेन्डा जनतामाझ प्रस्तुत गर्दै संगठन सुदृढीकरण र पार्टी प्रवेश कार्यक्रमलाई समेत प्राथमिकतामा राखेका छन्।
यसै क्रममा सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले आफूले विगतमा गरेका विकास निर्माण तथा नीतिगत पहलहरूबारे जानकारी गराउँदै घरदैलो अभियानलाई तीव्र बनाएका छन्।
मंगलबार भोक्राहा नरसिंह गाउँपालिका–१ मा आयोजित कार्यक्रममा १०० भन्दा बढी नेकपा एमालेका कार्यकर्ताहरूले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई कार्कीले स्वागत गर्दै संगठन सुदृढीकरणमा जुट्न आग्रह गरेका थिए।
पार्टी प्रवेश गर्ने स्थानीय सत्यनारायण मेहताका अनुसार देशको वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको भूमिका अपरिहार्य रहेको महसुस गर्दै आफूहरूले एमाले परित्याग गरी कांग्रेस रोजेको बताएका छन्।
यसअघि पनि भोक्राहा नरसिंह गाउँपालिका–७ मा २०० भन्दा बढी जनमत पार्टीका नेता–कार्यकर्ता तथा बराहक्षेत्र क्षेत्रमा राप्रपाका केही नेताहरूलाई समेत कार्कीले नेपाली कांग्रेसमा स्वागत गरिसकेका छन्।
चुनाव नजिकिँदै जाँदा सुनसरी–४ मा दल परिवर्तनको क्रम तीव्र बन्दै गएको देखिएको छ। यसले नेपाली कांग्रेस प्रतिको अनआधार बढ्दै गएको देखिन्छ।