२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनादेशको दिन : प्रतिनिधि सभा निर्वाचन आज

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, फाल्गुण २०, २०८२

तस्विर : नमो अनलाइन

काठमाडौँ // जेन–जी विद्रोहले तत्कालीन सरकार र प्रतिनिधिसभा विस्थापित भएको ६ महिनामा नेपालमा बिहीबार मतदान हुँदै छ । मतदानलाई सुरक्षित र व्यवस्थित रूपमा पूरा गराउन सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद चुन्न निर्वाचन हुँदै छ । १ करोड ८९ लाख ३ हजार ६ सय ८९ नागरिकलाई मताधिकार छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजे मतदान सुरु हुनेछ । अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउनेछन् ।

प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३ सय ८८ महिला छन् । एक उम्मेदवार अन्य लिंगको रहेको आयोगको विवरण छ । प्रत्यक्षतर्फ ६५ राजनीतिक दलबाट २ हजार २ सय ६३ र स्वतन्त्र रूपबाट १ हजार १ सय ४३ जनाले उम्मेदवारी दिएका छन् ।

समानुपातिकतर्फ ६३ दलका १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला उम्मेदवार छन् । राजनीतिक दललाई प्राप्त हुने भोटका आधारमा समानुपातिक सांसद चयन हुने व्यवस्था छ । दुईवटा निर्वाचन प्रणालीका कारण मतदाताले दुई मतपत्रमा रहेको चिह्नमा स्वस्तिक छाप लगाउनुपर्नेछ ।

नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या बढी छ तर मतदाता पुरुष बढी छन् । यो निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष र ९२ लाख ४० हजार १ सय ३१ महिला मतदाता छन् । लैंगिक अल्पसंख्यक मतदाताको संख्या २ सय रहेको निर्वाचन आयोगले जनाएको छ । सुरक्षाकर्मी, निर्वाचनमा खटिने कर्मचारी, कैदी र आश्रममा बस्ने गरी १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता छन् । उनीहरूका लागि अस्थायी मतदानस्थल तोकिएको छ ।

error: Content is protected !!