काठमाडौँ । सडक पेटीमा कार्पेटको धुलो झार्दै गरेको तस्बिर भाइरल भएपछि काठमाडौँ महानगरपालिकाले एक पसल सञ्चालकलाई कारबाही गरेको छ । महानगर प्रहरी बलले दरबारमार्गस्थित पसललाई २५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।
महानगर प्रहरी धर्मराज भण्डारीका अनुसार तोकिएको समय र स्थान बाहेक अन्यत्र फोहरमैला निष्कासन गरेको शीर्षकमा बुधबार २५ हजार रुपैयाँ जरिबाना तिराइएको हो । उनले टेकपानासँग भने, “पसलको म्याट दरबारमार्गको सडक पेटीमा टकटकाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि हामीले कारबाही अघि बढाएका थियौँ । पसल धनी पङ्कज कुमारलाई सो जरिबाना तिराइएको हो ।”

विगत केही दिनदेखि मार्बल बिच्छ्याइएको दरबारमार्गको सडक पेटीमा एक पुरुष र महिलाले कार्पेटको धुलो टकटक्याएको तस्बिर ‘एक्स’ लगायतका सामाजिक सञ्जालमा भाइरल भएको थियो । आफ्नो पसल सफा गर्न सार्वजनिक सम्पत्तिलाई फोहर बनाएको भन्दै प्रयोगकर्ताहरूले आलोचना गरेका थिए । सहरलाई कुरूप बनाउन खोज्नेलाई समेत कारबाही हुनुपर्ने माग उनीहरूले राखेका थिए ।